२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

‘बृद्धभत्ता पाउन थालेपछि समाजमा ज्येष्ठ नागरिकको सम्मान र इज्जत’

२४ कार्तिक, काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री रहेको एमालेको अल्पमतको सरकार गठन भएपछि अरु पार्टीको चर्को बिरोधका बाबजुद बृद्धा भत्ता दिने ऐतिहासिक काम सुरु गरेको स्मरण गरेका छन् ।

काठमाडौंको धापासीमा बुधबार जेष्ठ नागरिकसँगको अन्तर्क्रियामा पोखरेलले उक्त निर्णयको स्मरण गरेका हुन् । ज्येष्ठ नागरिकको हक हितका लागि आवाज उठाउने पहिलो पार्टी एमाले भएको उनले बताए । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई भत्ता दिन सुरू गर्दा विरोध भएको स्मरण गर्दै पोखरेलले भने, ‘ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्न सक्ने बनाउनु सरकारको दायित्व हो भनेर हामीले एक सय रूपैयाँ भत्ता दिन सुरू गरेका थियौँ । तर, काँग्रेस लगायत पार्टीले यसरी भत्ता दिँदा राज्यको ढुकुटी रित्तिन्छ भन्दै घोर विरोध गरेका थिए ।’

ज्येष्ठ नागरिकको सम्मान गर्ने एमालेको स्वच्छ उद्देश्यलाई अनेक विरोध सहेर पनि स्थापित गरिएको चर्चा गर्दै पोखरेलले ज्येष्ठ नागरिकहरू आज समाजमा सम्मान र इज्जतका साथ बाँचिरहनुभएको छ भने । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भत्ता बढाएर ५ हजार रूपैयाँ पुर्याउने योजना बनाएको भए पनि बीचमै सरकारबाट हट्न परेकाले योजना पूरा गर्न नपाएको पोखरेलको भनाइ छ ।

ज्येष्ठ नागरिकलाई बोझको दृष्टिले हेर्ने गरेकोमा एमालेले सम्मान दिनुपर्छ भनेर समाजमा चेतना फैलाउने काम गरेको पोखरेलले बताए । पोखरेल २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको प्रमुख राजनीतिक सल्लाहकार थिए । आगामी मंसिर ४ को निर्वाचनका सन्दर्भमा एमालेले जारी गरेको घोषणापत्रमा ज्येष्ठ नागरिकको हक हितका लागि धेरै एजेण्डा समेटिएकाले ज्येष्ठ नागरिकको हितका लागि पनि एमालेले आगामी निर्वाचन जित्नुपर्ने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए ।

ज्येष्ठ नागरिकहरूले पोखरेलसँग आफूहरूलाई एउटा भवन आवश्यक रहेको तथा भवनमा भजनकीर्तन र जमघट गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । एमालेको सरकार बनेपछि ज्येष्ठ नागरिकका समस्या समाधान गर्दै मागबमोजिम भवन निर्माण गरिने प्रतिबद्धता पोखरेलले जनाए ।

प्रकाशित मिति : November 10, 2022 at 9:54 am