२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

बलात्कारपछिको मुस्कान (लघुकथा)


म मुस्कुराउँछु । हो म मुस्कुराउँछु । मसङ्ग मुस्कुराउनुको बिकल्प नै छैन किनभने भर्खरै म बलात्कृत भएकी छु । हुन त मैले चिच्याएर रुनुपर्ने हो । रगतले लतपतिएको सुरुवाल देखाउंदै प्रहरीमा उजुरी जाहेर गर्नुपर्ने हो अनि आमाको काखमा टाउको बिसाउंदै भन्नू पर्ने हो- आमा म लुटिंए ।

राक्षसले मेरो सुकोमल बदनभरी नङ्रा गाड्यो । आमा ! भतभति पोलिरहेछ । तर म यसो गर्न सक्दिन । मलाइ डर छ मेरो परिवारको इज्जतको । म बलात्कृत हुनु नितान्त मेरो ब्यक्तिगत घटना हो । यो घटना सार्बजनिक भएको खण्डमा मेरो बुवाको पन्डित्यांइ टुट्छ । आमाको पण्डितनी बजैको उपनाममा दाग लाग्छ ।

मेरा आफन्तहरुले नचाहेरै एउटी अलच्छीनिको मुहार घरीघरी देख्नुपर्ने हुन्छ । त्यसैले म मलाइ बलात्कार गर्ने महान पुरुषलाइ अनुरोध गर्ने छु कि यो कुरा अन्त फैलिन नपाओस । उस्ले इन्कार गर्यो भने म उस्को पाउ समाउने छु ।

हिजो जुन आमाको काख शितल हुन्थ्यो त्यही काखले भतभत पोल्ने छ । आमाले मलाइ भन्नुहुनेछ- ” मरिहाली छ नि अलक्षिनी । एक्लै एक्लै सांझ , बिहान नहिंड भनेको कति भयो? मानिन रांडीले । ऐले अनुहारमा कालो पोतेर मरी ।” अनि रगतले लतपतिएको मेरो सुरुवालमात्रै पर्याप्त हुनेछैन प्रहरीमा उजुरी जाहेरीको लागि । किनभने मेरो बलात्कार महान मान्छेबाट भएको छ । उनीहरुको अन्नदाताबाट ।

जरुर नुनको सोझो गर्ने छन उनीहरुले । म सङ्ग रेला गर्दै प्रश्न सोध्नेछन – ” कसरी भयो बलात्कार? पुरै सुना । कहाँ गर्यो बलात्कार? देखा” । त म कसरी सक्छु डांको छोडेर रुन ? आफ्नो दर्द बिसाउन । त्यसैले म मुस्कुराउंछु ।

मौन बस्दा म भित्रको जलन आँसु बनेर पोखिन सक्छ । अनि मानिसहरुलाइ थाहा हुन सक्छ म बलात्कृत भएकी छु भनेर । मलाइ मेरो गल्ती थाहा भएको छ । पहिलो गल्ती म राम्री हुनु थियो अनि दोश्रो केटी मान्छे भएर एक्लै हिंड्नु ।

अब म गल्ती दोहोर्याउने छैन । म चाहन्छु म बलात्कृत भएको कुरा अरुलाइ थाहा हुनु हुँदैन । मेरो बलात्कार मेरो नितान्त ब्यक्तिगत घटना हो । नितान्त ब्यक्तिगत ।। म चाहन्न मेरो कारणले मेरा आफ्नाहरुले दुःख उठाउनु परोस ।। त्यसैले त म मुस्कुराउँछु ।।

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार १८:०५