६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

तादीमा फेरि पनि तस्करको गिद्दे नजर, सर्वोच्चको आदेशविपरित महत लगायतको क्रसरलाई अबैध अनुमति


२० कार्तिक, नुवाकोट । नुवाकोटको तादी नदीमा सर्वोच्च अदालतको आदेशविपरित नदीजन्य वस्तु उत्खननको अनुमति दिइएको छ । नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महतसहितका व्यवसायीले वर्षौँदेखि अबैध उत्खनन् गरिरहेको तादीमा पुनः सर्वोच्चको आदेशविपरित विदुर नगरपालिकाका मेयर राजनलाल श्रेष्ठले डोजर नै चलाएर नदीजन्य वस्तुको उत्खननको अनुमति दिएका छन ।

स्थानीय चुनावमा विदुर नगरपालिकामा गठबन्धनको तर्फबाट टिकट दिएको गुन र वर्डस्टोनले चुनाव जिताउन गरेर सहयोगको बदलामा मेयर श्रेष्ठले अबैध उत्खनन्को अनुमति दिएको स्थानीयले बताएका छन । बर्डस्टोनको अध्यक्ष नेपाली कांग्रेस निकटका व्यवसायी विनोद श्रेष्ठ अध्यक्ष रहेका छन । क्रसरमा कांग्रेससहित माओवादी र एमालेका नेताहरूको पनि कमिसन लिने सेयर रहेको बुझिन्छ । त्यसकारण ठूला दलका नेताहरूले उक्त क्रसरका बारेमा कहिल्यै बोलेको देखिदैन । उनीहरूले आफ्ना प्रतिनिधि मार्फत मासिक असुल्ने गरेको आरोप यसअघि पनि लाग्ने गरेको थियो ।

नेताहरूको जिल्ला भनेर चिनिने नुवाकोटका खोला र नदी तीनै नेताहरूको ‘कु’ दृष्टिको शिकार भएको छ । कतिसम्म भने सम्मानित सर्वोच्च अदालतले आदेश नै दिएर डोजर चलाएर हुने खोला र नदीको दोहन रोक्न निर्देशन दिएपनि तस्करहरूले कमिसन दिएर जनप्रतिनिधि र प्रशानका अधिकारीलाई अन्धो बनाइदिएका छन । कमिसन दिने र सेटिङ मिलाउने क्रसरहरू निरन्तर चलिरहेका छन ।

अहिले विदुर नगरपालिका वडा नम्बर ५ र २ को सीमानामा रहेको तादी खोला खन्न विदुर नगरपालिकाले वर्डस्टोनलाई अनुमति दिएको छ । एक सय मिटर माथि लामो पक्की पुल निर्माण भैरहेको भए पनि त्यसैको तल नदीमा डोजर चलाउने गरी विदुर नगरपालिकाले अनुमति दिएको हो । यसै पनि विदुर नगरपालिकाले दिएको अनुमति सीधै नदीमा डोजर नचलाउन सर्वोच्चले दिएको आदेशविपरित छदैँथियो त्यसमा झन निर्माणाधिन पुलको जम्मा सय मिटर तल नदीजन्य बस्तुको उत्खनन गर्दा त्यसले पुललाई समेत समस्या सिर्जना गर्ने निश्चित छ।

इन्सेटमा विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठ, नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महत र बीचमा वर्डस्टोनका अध्यक्ष विनोद श्रेष्ठ ।

स्थानीय जनप्रतिनिधिको असहमति र बिरोधकाबीच विदुर नगरपालिकाका अघिल्लो नेतृत्वले पनि कमिसनका लागि सडक आयोजनाका नाममा उत्खननको अनुमति दिएको थियो । ठीक अहिले त्यसैगरी एक महिनाको समय दिएर विदुर नगरपालिकाले नदीजन्य वस्तुको उत्खननको अनुमति दिएको छ । विदुर नगरपालिकाले अबैध ढंगले उत्खननको अनुमति दिएकको वर्डस्टोनसँग त्यस स्थानमा उत्खनन गर्ने लाइसेन्स समेत नभएको स्थानीयले बताएका छन । तर गुण्डा लगाउने धम्की दिएर क्रसर सञ्चालकहरूले स्थानीयको मुख बन्द गराएका छन ।

प्रहरी र प्रसान सबैतिर कमिसन बुझाएर क्रसर सञ्चालकहरूले नदीको दोहन गर्दै आएका छन । विदुर नगरपाकालिकाका एक जना पूर्व जनप्रतिनिधिले वर्डस्टोनले यसअघि आयोजनाका नाममा १५ हजार घनमिटर भनेर ८० हजार घटनमिटनर नदीजन्य पदार्थ उत्खनन गरेको बताउँछन । उनले वर्डस्टोनले यस पटक पनि पहिल्यकै जस्तो १५ हजारको नाममा ८० हजार घनमिटर नदीजन्य सामग्री उत्खनन गर्नेमा कुनै शंका छन । किनकी उसले प्रशासनदेखि प्रहरीको नेतृत्वसम्मको व्यवस्थापन गरिसकेको दाबी गरे ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आईतवार ०८:५६