२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

एमालेले विराटनगरलाई आर्थिक राजधानी बनाउने

२० कार्तिक, विराटनगर । नेकपा एमाले प्रदेश १ ले प्रदेशस्तरीय चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । एमालेले शनिबार विराटनगरमा २५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

एमालेले आउँदो प्रदेशसभाबाट नामकरणको विषय टुंग्याउने प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ । आगामी प्रदेशसभाबाट प्रदेशको नामकरण गरी अत्याधुनिक सुविधासहितको प्रदेश राजधानीको भौतिक संरचना बनाउने एमालेले प्रतिबद्वता गरेको छ ।

विराटनगरलाई आर्थिक राजधानी बनाउने, शासन प्रणालीमा सुशासन, पारदर्शिता र आर्थिक अनुसाशन कायम गरिने, मन्त्रालयको काम जिल्लाबाटै गर्ने विषयहरू प्रतिबद्धतापत्रमा उल्लेख छन् ।

विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने प्रतिबद्वता एमालेले गरेको छ । प्रदेशका पहाडी र हिमाली जिल्लाका विभिन्न अवसर सिर्जना गरी बसाइसराइको दर घटाउने, प्रदेशलाई नेपालको महत्वपूर्ण प्रवेशद्वारका रुपमा विकास गर्ने, वैज्ञानिक अनुसन्धान तथा नवप्रवर्तनमा युवा वैज्ञानिकको सहभागिता बढाउने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

यस्तै मुन्धुम ट्रेललगायत प्रदेश नं. १ का विभिन्न ठाउँमा दक्षिणदेखि उत्तरको पदमार्ग निर्माण गरी होमस्टेसहितका पर्यटन केन्द्रहरू विकास गर्ने, तिनजुरे–मिल्के–जलजले क्षेत्रमा पाइने लालिगुराँसको संरक्षण र सम्बद्र्धन गर्ने, प्रदेश स्तरीय खुला चिडियाघर सञ्चालन गेर्न, कोशी नदी प्रणाली र यसको पानीलाई बहुउपयोगमा ल्याउने एमालेले जनाएको छ ।

प्रकाशित मिति : 07:27