जसपाकाे घाेषणापत्रः राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)
१९ कार्तिक, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेशहरूमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको मुद्दा अगाडि सारेको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि शनिबार सार्वजनिक जसपाको घोषणापत्रमा संघमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको सरकार गठन हुनुपर्ने उल्लेख गरेकाे छ ।
घोषणापत्रमा जसपाले संघमा सरकार निर्माण गरेमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेशहरूमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था गर्ने उल्लेख गरेको छ । ‘प्रत्यक्ष तथा सहभागितामूलक समावेशी लोकतन्त्रको मान्यताअनुरूप संघमा बालिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्ने,’ जसपाको घोषणापत्रमा लेखिएको छ, ‘प्रदेशहरूमा मुख्यमन्त्री तथा विशेष संरचना र स्थानीय तहहरूमा त्यहाँको कार्यकारी प्रमुख पनि बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने उल्लेख गरेकाे छ ।
यस्तै कार्यकारी राष्ट्रपतिले समावेशी मन्त्रिपरषद् गठन गर्ने व्यवस्था हुने भन्दै अगाडि लेखेको छ, ‘कार्यकारी राष्ट्रपतिले समावेशी रूपमा सक्षम व्यक्तिहरूको छनौट गरी मन्त्रिपरिषद् बनाउने । शक्तिपृथकीकरणको सिद्धान्तअनुरूप मन्त्रीहरू राजनीतिज्ञ र विशेषज्ञमध्येबाट राष्ट्रपतिले नियुक्त गर्ने ।’
जसपाले संघीय र प्रदेश संसद् भने पूर्ण समानुपातिक गर्नुपर्ने धारणा अगाडि सारेको छ । त्यस्तै कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी एकै कार्यकारी पदमा रहन नहुने कानुनी व्यवस्था गर्ने पनि उसले भनेको छ । ‘संघीय संसद् र प्रदेशसभाहरू पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चयन गरिने । कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने ।
संघ, प्रदेश र स्थानी तहबीच सहकारिता, सहअस्तित्व र सहकार्यात्मक सिद्धान्तमा आधारित सम्बन्ध हुने पनि जसपाको घोषणापत्रमा उल्लेख छ । ‘कार्य क्षमताको अभाव र खराब आचरण भएको वस्तुनिष्ठ आधार र कारणहरू भएमा सबै तहका सरकारको पदाधिकारीहरूमाथि प्रत्याह्वान गर्न वा महाअभियोग लगाउन सकिने व्यवस्था गर्ने’ पनि जसपाको घोषणापत्रमा उल्लेख छ ।
प्रकाशित मिति : 15:57









