दार्चुला पुगेर ओलीले भनेः हाम्रो एक इन्च भूमि छाड्दैनाैँ, नदी वरतिर सर्यो भनेर सीमा सार्न पाइन्न
१८ कार्तिक, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि फिर्ता लिने बताएका छन् । शुक्रबार दार्चुलाबाट एमालेको चुनावी सभा सुरु गर्दै उनले भने उनले आफ्नो एक इन्च जमिन अरुलाई नछाड्ने बताए । उनले भने, ‘राष्ट्रियताको प्रश्नमा आफ्नो एक इन्च जमिन छाड्नेवाला छैन। हामीले संसदबाट नक्सा जारी गरिसकेका छौँ । आज फेरि ग्यारेन्टी गर्न चाहन्छौँ । चुनाव घोषणापत्रमा जारी गर्दा २० वटा ग्यारेन्टी गरेका छौँ ।’ उनले दार्चुलाको समस्या आफूले बुझेको बताए ।
ओलीले तिंकर भञ्याङको बाटो निर्माणमा भारतले बेकारको झमेला निकालेको टिप्पणी गरेका छन् । उनले सीमाको विषयमा सानो चित्त नगर्न आग्रह गरे । ‘चीनसम्म जाने ७०/७५ किलोमिटर चट्टान हामीले फोड्नुपर्ने छ तिंकर भञ्याङको लागि भारतले हाम्रो भूभागबाट अनावश्यक ढंगले बाटो बनाएको छ । हामी आफैं बनाउने थियौँ । तर, भारतले आफूखुशी बनाएर बेकारको झमेला निकाल्यो’ ओलीले भने, ‘म भारतलाई अहिले पनि भन्न चाहन्छु । नदी वरतिर सर्यो भनेर सीमा सर्ने होइन । पहिले नदी भएको ठाउँमा भारतले बाँध लगाउने होइन । ठूलो भारतको सानो चित्त हुनु हुँदैन । खोलो उता सर्यो कि सीमाना सारिहाल्ने । विशाल भारत छ तर, थोरै भएपनि सीमाना सार्छ । यो सुहाउँदैन ।’
उनले भारतले सीमामा गरेको अतिक्रमणलाई नेपाली जनताले थिचोमिचोका रुपमा लिइरहेको बताए । भारत भ्रमणमा जाँदा दिल्ली र उत्ताराखण्डको सहमतिमा झोलुङ्गे पुल बनाएको बताउँदै उनले भने दार्चुला र धार्चुलामा पक्की पुल बनाउने उद्घोष गरे ।
प्रकाशित मिति : 16:01









