७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

पीएम कपः पुरुष प्रतियोगितामा गण्डकी र लुम्बिनी प्रदेश विजयी


१६ कार्तिक, काठमाडाैं ।  काठमाडौंमा जारी पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश बिजयी भएको छ ।

बुधबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा गण्डकीले कर्णाली प्रदेशलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । गण्डकीले दिएको २ सय ९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४७ ओभरमा अलआउट हुँदै १ सय ७६ रन बनाउन सक्यो ।

कर्णालीका हिमान्सु शाहीले ६९ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । कप्तान रविन्द्र शाहीले ४२ रन जोड्दा प्रकाश जैसीले १५ रन बनाए ।

गण्डकीका सुबाश भण्डारी र चन्द्र पौडेलले ३/३ विकेट लिए । विपिन खत्रीले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो।

गण्डकीका लागि अभिषेक बस्नेतले ५१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै अर्जुन कुमालले ४९ रन जोड्दा विधान श्रेष्ठले ४६ रन बनाए । कर्णालीका अनुज चुनाराले ४ विकेट लिए । प्रकाश जैसी र दिनेश अधिकारीले २ विकेट लिए ।

त्यस्तै मुलपानी क्रिकेट मैदानमा बुधबार बागमती प्रदेशलाई ८ विकेटले हराउँदै लुम्बिनीले सुखद सुरुआत गरेको हो । बागमतीले दिएको १ सय ५५ रनको लक्ष्य लुम्बिनीले ३५ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा देव खनालले अविजित रहदै ७७ रनको अर्धशतकीय इनिङ खेले ।

प्रज्वल थापाले २९ रन जोड्दा सन्दीप रजाली २९ रनमा अविजित रहे । आकाश त्रिपाठी ३ रनमा आउट भए । बागमतीका रिजन ढकाल र प्रतिष जिसीले १/१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ३८ ओभर १ बलमा अलआउट हुँदै १ सय ५४ रन बनाएको थियो ।

बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३३ रन बनाए । लुम्बिनीका अनिल खरेलले ४ विकेट लिए । अभिषेक गौतम र विशाल बिक्रम केसीले २/२ विकेट लिए । जितसँगै लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ । बागमती ३ खेलमा अंक विहीन रहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार १६:१७