१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

१५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले मंगलबार कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हाे । यस विषयमा सर्वोच्चले निर्वाचन आयोगसँग लिखित जवाफ पनि माग गरेको छ ।

निर्वाचन आयोगले कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र उक्त पद लाभको पद भएको भन्दै १२ कात्तिकमा कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको उक्त निर्णयविरुद्ध कार्कीले सोमबार सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

सर्वोच्चले मेडिकल काउन्सिलको सदस्य पद नियमित पारिश्रमिक पाउने पद वा नियमित जिम्मेवारीको पद नभएको बताएको छ । त्यसैले प्रतिनिधिसभा सदस्यको निर्वाचन इेन २०७४ को दफा १२ को खण्ड (ङ) अनुसार काउन्सिलको सदस्य पद लाभको पद नमानिने व्याख्या गरेको छ ।

आदेशमा भनिएको छ, ‘कुनै काउन्सिल वा संगठित संस्थाको बैठकमा भाग लिँदा पाउने बैठक भत्ता वा भ्रमण भत्ता वा सवारी खर्च जस्ता आर्थिक लाभ नियमित प्रकृतिको नहुने अस्थाको देखिन आउँछ’ ।

प्रकाशित मिति : November 1, 2022 at 6:54 pm