२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

एमालेले राप्रपा र जसपालाई मिलाएर सरकार बनाउने अध्यक्ष ओलीको घोषणा

११ कार्तिक, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमालेले राप्रपा र जसपालाई मिलाएर सरकार बनाउने घोषणा गरेका छन । झापाको क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट माग्ने क्रममा ओलीले एमालेका साथमा रहेकाहरु राष्ट्रिय पार्टी बन्ने र सरकारमा जाने बताए ।

माधव नेपालहरुले खोलेको छ एउटा पार्टी, त्यसको कन्तविजोक हुँदैछ, ओलीले भने । उनले भने ‘त्यो राष्ट्रिय पार्टी हुँदैन । कोही साथी त्यो पार्टीमा हुनुहुन्छ भने आजैबाट छोडिदिनुस् ।’ अध्यक्ष ओलीले लोसपाले पनि एमालेको साथ छाडेर राष्ट्रिय पार्टी बन्ने मौका गुमाएको टिप्पणी गरे । उनले भने, ‘लोसपा राष्ट्रिय पार्टी थियो, तर अब हुँदैन । एमालेको राष्ट्रियता उसले बोक्न सक्ने भएन। त्यसैले भाग्यो । अब राष्ट्रिय पार्टी हुनेवाला छैन ।’

उनलेले एमालेको बहुमत कसैले रोक्न नसक्ने बताए । उनले भने, ‘आउँदो निर्वाचनबाट नेकपा एमालेको बहुमत ल्याउछ, कसैले रोक्न सक्दैन । तर, बहुमत आयो भनेर एक्लै सरकार बनाउने होइन, अरु सहयोगी र सहयात्रीलाई पनि साथमा लिएर सरकार बनाउँछ । राप्रपा र जसपासहितको सरकार बन्छ । त्यसपछि राजेन्द्र लिङ्देनलाई विकासको बारेमा प्रश्न गर्नुस्, अहिले होइन ।’

प्रकाशित मिति : 18:49