नेपाल संवत् ११४३ सुरु
९ कार्तिक, काठमाडाैँ । चान्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत् ११४३ लाई आज बिहान सूर्योदयसँगै स्वागत गरिएको छ ।
नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । बिहान सूर्योदयसँगै नयाँ वर्ष सुरु भएको खुसीयालीमा अहिले राजधानीका विभिन्न स्थानमा शुभकामना र्याली निकाल्ने तयारी भएको नयाँ वर्ष (न्हूँ द) मूल समारोह समितिले जनाएको छ ।
यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतकाे मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।
“लच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकाल अघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भने ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखिनै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।
गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।
विसं २०६५ मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परासमेत काठमाडौँमा अझै छ ।
प्रकाशित मिति : October 26, 2022 at 10:01 am









