२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

नुवाकाेटेका लागि बागमतीको मुख्यमन्त्री चुन्ने अवसर, पञ्चायतका प्रतिनिधिविरूद्ध लड्दै पाण्डे

७ कार्तिक, नुवाकोट । नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष केशवराज पाण्डे बागमती प्रदेशको मुख्यमन्त्रीका आकांक्षी हुन । बागमती प्रदेशको संस्थापक सरकारमा प्रमुख दुई मन्त्रालयको नेतृत्व गरिसकेका पाण्डे एमाले संसदीय दलका प्रमुख सचेतक समेत भैसकेका नेता हुन । एमाले भित्रका कमै मात्र बौद्धिक नेताको सूचीमा अग्रपंतीमा रहने पाण्डे यो निर्वाचनपछि बन्ने बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका आकांक्षी छन ।

पार्टीको बागमती प्रदेशको संगठन कमिटीका प्रमुख समेत रहेका पाण्डे छिटो निर्णय लिन सक्ने र आफ्नो अडानमा उभिन सक्ने नेताको पंक्तिमा पनि उत्तिकै नाम सुनिने नेता हुन । एमालेले बामगती प्रदेशको सरकार र केन्द्रीय सरकार दुबैको नेतृत्व गर्ने दाबी गरिरहेका पाण्डे प्रदेशसभामा ६५ क्षेत्रमा एमालेले उम्मेदवारी दिएको र त्यसमा बहुमत ल्याउने बताउँछन । २०७४ मा समेत एमाले एक्लैको बहुमत आएको स्मरण गर्दै पाण्डेले संघीय सरकार गठनका लागि बागमतीले प्रतिनिधिसभामा महत्वपूर्ण योगदान गर्ने दाबी गर्छन ।

एमालेको विगतको सरकारले देशलाई शुरुङ युगमा प्रवेश गराउने काम गरेको बताउँदै अब बाँकी रहेका काम निरन्तरता दिन पनि एमालेकै सरकार चाहिने बताउँछन । पाण्डेले विकासको गतिलाई अगाडी बढाउन नेकपा एमालेको सरकार सबै प्रदेश र संघमा अपरिहार्य रहेको बताए । पाण्डे नुवाकोटको क्षेत्र नम्बर २ को प्रदेशसभा (क)बाट एमालेका तर्फबाट उम्मेदवार रहेका छन ।

पाण्डे पञ्चायतकालका जिल्ला उपसभापति रामप्रसाद ढुंगानासँग लडिरहेका छन । ७२ वर्ष ढुंगाना र ५८ वर्षका पाण्डेको बीचको चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । यद्यपी सोही प्रदेशको सांसदको रूपमा पाण्डेले गरेको कामका कारण उनी स्थापति भैसकेका छन । उनले अर्बौ रूपैयाँ बजेट आफ्नो क्षेत्रमा परिचालन गराउन सफल भएका छन ।

को हुन केशवराज पाण्डे ? 

पारिवारिक पृष्ठभूमि:

बुवा पर्शुराम पाण्डे र आमा मगंला गौरी पाण्डेका पाँच छोरी र २ छोराहरु मध्ये परिवारको माइलो सन्तान र जेठो छोराको रुपमा वि.सं २०२२ साउन २१ गते नुवाकोटको बेलकोट गढी नगरपालिका वडा नं. १३ दाङमईमा केशबराज पाण्डेको जन्म भएको हो । पञ्चायती व्यवस्थामा राजनीतिमा सक्रिय बुवाबाट परिवारका जेठा छोरा पाण्डेमा राजनीतिक चेतना शुरु भएको देखिन्छ । २०४६ सालमा विष्णुमाया कँडेलसँग प्रेम विवाह गरेका पाण्डेका १ छोरी १ छोरा छन्।

अध्ययनः
गाउँकै श्री शक्ति मा.वि.बाट कक्षा ५ सम्मको अध्ययन पुरा गरेका पाण्डेले काठमाडौँको शान्ति शिक्षा मन्दिरमा कक्षा ६ देखि एस.एल.सी.सम्मको पढाई पुरा गरे । २०३६ सालमा प्रथम श्रेणीमा एस.एल.सी उत्तीर्ण गरेका पाण्डे राजनीति सहभागीता र आन्दोलनका कारण पढाईमा अनियमित भएपछि २०३८ सालमा अमृत साइन्स क्याम्पसमा प्रवीणता प्रमाणपत्र तह (पीसीएल) मा भर्ना भए । २०४२ सालमा अमृत साइन्स क्याम्पसबाटै बिएसी उत्तीर्ण गरेका उनले राजनीतिक जिम्मेवारीको कारण २०५२ सालमा मात्र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट एमएससी उत्तीर्ण गरे। पार्टी काम र पढाईलाई सँगसँगै लगेका पाण्डेले २०७३ सालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत मदन भण्डारी क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तरको दोश्रो डिग्री थपे ।

राजनीतिक जीवनः
२०३६ सालको जनमत संग्रहपछि अमृत साइन्स क्याम्पसमा भर्ना भएका पाण्डे सोहि वर्ष अनेरास्ववियु (पाँचौँ)को क्याम्पस प्रारम्भिक कमिटी कोषाध्यक्ष बने । पार्टीमा निरन्तर क्रियाशील पाण्डेले २०४० सालमा तत्कालीन नेकपा (माले)को पश्चिम बागमती सम्पर्क कमिटी (रसुवा, नुवाकोट, धादिङ) सचिव बनेका पाण्डे, २०४२ सालमा अनेरास्ववियुको नुवाकोट जिल्ला अध्यक्ष समेत बने ।

नुवाकोट अनेरास्ववियुमा गरेको कामको प्रभावले २०४४ सालमा उनी अनेरास्ववियु बागमतीको अध्यक्ष चुनिए। २०४५ सालको स्ववियु निर्वाचनमा अमृत साईन्स क्याम्पसमा अनेरास्ववियु तर्फबाट उम्मेद्वार बनेका उनी सभापतिमा सानदार ढंगले जित्दै क्याम्पसमा पहिलोपटक अखिलको झण्डा गाड्न सफल भए।

पहिलोपटक अनेरास्ववियुले क्याम्पसमा जितेपछि क्याम्पसमा खेल मैदान निर्माण, अडिटोरियम हल निर्माण, ओभरहेड ब्रिज निर्माण, अमृत साइन्स क्याम्पसमै स्नातकोत्तर तहको सुरुवात, ५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था (दुर्गम क्षेत्र, दलित र महिला) सहित नगद पुरस्कार समेत दिने व्यवस्था गरेका लोकप्रिय नेता पाण्डेको स्ववियु कार्यकाल भने जन-आन्दोलनको कारण २ बर्षको हुनुपर्नेमा ४ वर्ष हुनपुग्यो ।

क्याम्पसमा दुर्गम विधार्थीहरुलाई गरिने हेला, दलित र छात्राहरुलाई आर्थिक अभावले पारेको समस्या नजिकबाट बुझेका पाण्डेले विज्ञान पढ्न दुर्गम क्षेत्र, महिला र दलितहरुलाई गरेको छात्रवृतिले अहिलेसम्म ठूलो अवसर र योगदान पुर्याएकोमा सम्पुर्ण दलित महिला, तथा पिछडिएका वर्गले हर्ष व्यक्त गरिरहेका छन् ।

विद्यार्थी राजनीति, पार्टी राजनीति र स्ववियु सभापतिको त्रिपक्षीय जिम्मेवारीमा रहँदा पटक पटक गरी २ वर्ष भन्दा बढी जेलजीवन बिताएका पाण्डेले २०४६ सालको जन-आन्दोलनको विरुद्धमा आउने प्रहरीलाई एसिड प्रहार गरी एसिड काण्ड मच्चाएका थिए । आन्दोलनमा सहभागी हुँदै गर्दा कोकाकोलाको बोत्तलमा केमिकल प्रयोग गरेर आन्दोलन दबाउन आउने प्रहरीलाई पेट्रोल बम हानेपछि तत्कालीन पञ्चायती प्रहरीले अमृत साईन्स क्याम्पसको स्ववियु कार्यालय तोडफोड मात्र गरेन ध्वस्त नै बनायो। क्याम्पसको होस्टल पुरै कब्जा गर्यो र सबै विद्यार्थीहरुले अनिवार्य रुपमा होस्टल छोड्नुपर्ने अवस्था सिर्जना भयो ।

आन्दोलनमा फरक र आक्रमक रणनीति बनाउने पाण्डेले अमृत साईन्स क्याम्पसदेखि त्रिचन्द्र क्याम्पससम्म १५० भन्दा बढी विद्यार्थीको सहभागीतामा लाठ्ठी जुलुश मार्फत मण्डले लखेट अभियानको सुरुवात समेत गरे । जसले गर्दा बहुदलको पक्षमा आन्दोलन गर्ने बुटवल, धरान र काठमाडौँका विभिन्न भागमा हुने मण्डेलेको बिगबिगी र दमनलाई कम गराउन महत्वपूर्ण भूमिका खेलेको थियो । सोहि लाठी जुलुसको नेतृत्व गरेपछि प्रहरीको नियन्त्रणमा परेका पाण्डेलाई काठमाडौँ, रसुवा र सिन्धुपाल्चोकका जेलमा चार महिनाभन्दा बढी राखी यातना समेत दिइयो ।

२०४० सालमा नेकपा मालेबाट पार्टी जीवनमा जोडिएका पाण्डे २०४८ सालमा स्ववियु सभापतिको जिम्मेवारीमा रहँदै २०४८ देखि २०५४ सम्म नेकपा एमालेको काठमाडौँ जिल्ला कमिटी सदस्य समेत बने । अनेरास्ववियुको विदेश विभाग प्रमुख बनेका नेता पाण्डे संगठनको प्रतिनिधित्व गर्दै दुई कार्यकाल (२०५४–२०६०) एसियाली विद्यार्थी संगठन (आशा) को सचिव भएर एसियाभरि विधार्थी हक, हित र अधिकारको क्षेत्रमा योगदान पुर्याए।

आशाको सचिव हुदैँ गर्दा संयुक्त राष्ट्र संघको युएन युथ फण्ड संयोजकको रुपमा २०५५–२०५८ सम्म जिम्मेवारी बहन गर्दै संयुक्त राष्ट्र संघमा युवा भूमिकालाई सशक्त बनाए । आशाको सचिवै रहँदा २०५६ बाट २०५८ सम्म इन्टरनेशनल स्टुडेन्ट युनिएन (आइएसए) को उपाध्यक्षको रुपमा कुशलतापूर्वक जिम्मेवारी बहन गरेका पाण्डेले २०६० सालमा आशाबाट नेपाल फर्किएपछि पार्टीको नुवाकोट जिल्ला कमिटीमा रहेर काम गरे। नेकपा एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनदेखि प्रतिनिधि बनेका पाण्डेले २०६२ को आठौँ राष्ट्रिय महाधिवेशनपछि पार्टीको विदेश विभाग प्रमुखमा केपी शर्मा ओली छानिनु भएपछि ५ बर्षभन्दा बढी नेकपा एमाले विदेश विभाग सचिवको रुपमा जिम्मेवारी बहन गरी जनआन्दोलनको पक्षमा अन्तराष्ट्रिय जनमत तयार गर्न उल्लेख्यीय भूमिका निर्वाह गरे ।

२०७० सालमा संविधान सभा सदस्यमा नुवाकोट १ बाट प्रत्यक्ष उम्मेदवार बनेका पाण्डेले कांग्रेस नेता अर्जुन नरसिहं केसीसँग पराजित हुनुपर्यो । २०७४ मा भएको प्रदेश सभा चुनावमा नुवाकोट २ (क) बाट निर्वाचित भएका पाण्डेले कांग्रेस नेता जनदिश नरसिंह केसीलाई पराजित गर्न सफल भए । २०७५ चैत्र अन्तिमदेखि नेकपा एमाले बागमती प्रदेश सभाको मुख्य सचेतक बनेका पाण्डे २०७७ माघ अन्तिमदेखि डोरमणि पौडेल मुख्यमन्त्री हुँदा आन्तरिक मामिला मन्त्री र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हुँदा आन्तरिक मामिला तथा भौतिक पूर्वाधार मन्त्रीको रुपमा कुशलता पूर्वक जिम्मेवारी बहन गरे।

प्रकाशित मिति : 17:53