२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

भ्रष्टाचार र दलालीले माओवादी बिग्रेको भन्दै बखतराम किराँतीसहितका नेता एमाले प्रवेश

७ कार्तिक, उदयपुर । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्य बखतराम किराँती र जिल्लाका चर्चित नेता होम किराँती नेकपा एमालेमा प्रवेश गरेका छन । शनिबार आफ्नो फेसबुक पेजबाट पार्टी परित्याग गरेको सन्देश प्रवाह गर्नुभएका होम किराँतीसहितका नेताहरू आइतबार एमालेमा प्रवेश गरेका छन । बखतराम विगत २५ वर्ष र होम १७ वर्षदेखि पार्टीमा आबद्ध भई जिम्मेवारीपूर्वक काम गर्दै आएका नेता हुन् ।

माओवादीभित्र मौलाउँदै गएको चरम गुटबन्दी, असमानता, विभेदपूर्ण व्यवहार, नातावाद कृपावादबाट वाक्क भएर पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नु परेको उनीहरूले बताएका छन । कार्यक्रममा माओवादी केन्द्र, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी गरी २ सय ३० नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

एमालेका स्थानीय युवा नेता राजकुमार राईका अनुसार किराँती पार्टीका विभिन्न जनवर्गिय संगठनका १ सय ५० जना नेता, ५६ जना संगठित सदस्य गरी २ सय ६ जना प्रवेश गरेका हुन् । त्यसैगरी नेपाली काँग्रेस लिम्चुङ्गबुङ्ग गाउँपालिका वडानं २ का सचिव कमान चाम्लिङ्ग राईको नेतृत्वमा १५ जना र स्थानीय तहको निर्वाचनमा वडामा जसपाका उम्मेदवार बनेका बाबुराम राईको नेतृत्वमा ९ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको उनले बताए ।

उनीहरूलाई एमालेका प्रदेश कमिटी उपसचिव शैलेश लामा, प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य २ का उम्मेदवार अम्वरबहादुर रायमाझी, पुर्वमन्त्री कला घले, प्रदेश कमिटी सदस्यद्धय डा भेषराज थापा, प्रदेश कका उम्मेदवार देवराज राई, पार्टी अध्यक्ष परमेश्वर घिमिरे, उपसचिव टेकबहादुर राउत लगायतका जिल्ला कमिटीका नेताहरूले स्वागत गरेका हुन् ।

जनयुद्धकालिन कार्यकर्ताको रुपमा स्थापित होम किराँती पार्टी भित्रकै विभेदका कारण छोड्न बाध्य भएको बताए । एकदिन अघि मात्र उनले आफ्नो फेसबुक पेजबाट पार्टी परित्याग गरेको घोषणा गरेका थिए । लगत्तै उनी एमालेमा समाहित भएका हुन ।

आफ्ना शुभचिन्तक, शुभेच्छुक र समर्थक प्रति सान्त्वना दिँदै उनले फेसबुक पेजमा लेखेका छन, ‘श्रद्धेय दाजुभाइ तथा दिदिबहिनीहरुमा मुटुमाथि ढुंगा राखेर यो कुरा अवगत जाहेर गर्न चाहन्छौँ कि आज हामी पार्टीका जिम्मेवार कम्रेडहरुले अत्यन्तै निर्मम र कठोर निर्णय गर्ने कठिन परिस्थितिमा उभिएका छौं कि करिब १७ वर्षे राजनीतिक जीवन यात्रालाई पुर्ण बिराम लगाउँदै थाती राख्ने निर्णय गरेका छौ ।’

‘माओवादी पार्टीका नेता तथा कार्यकर्ताहरूमा विकारालरुपमा पलाएको कमिसन, भ्रष्टाचार, लुट, दलाल, अनैतिकता, व्यक्तिवाद, नातावाद, कृपावाद, परिवारवाद र अवसरवाद एवं कुहिएको विकृत पुँजीवादी सोच, चिन्तन,कार्यशैली र प्रवृत्ति प्रति घोर विमति राख्दछौँ,उहाँले भन्नुभएको छ, ‘अब माओवादी पार्टी जनताको पार्टी बन्न नसक्ने निष्कर्षसहित आजको मिति र तत्काल अहिलेबाट कार्यान्वयन हुने गरी पार्टीबाट सदाका लागि अलग हुने गरी स्वैच्छिक एवं सामुहिकरुपमा पार्टी परित्याग गरेका छौ ।’

प्रकाशित मिति : October 24, 2022 at 3:18 pm