२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

रामकुमारीले चुनावी प्रचारका नाममा कुण्ठामात्र पोखेको भन्दै समाजवादीकै कर्यकर्ता तनावमा

३१ असोज, गुल्मी । गुल्मीको निर्वाचन क्षेत्र नम्वर २ मा सत्ता गठबन्धनको उम्मेदवार रामकुमारी झाँक्रीको प्रचार शैली देखेर गठबन्धनकै नेता कार्यकर्ता अचम्मित बनेका छन् । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टसँग प्रतिष्पर्धामा उत्रिएकी झाँक्रीको भाषण विष्टको आलोचनामा मात्र सिमित छ ।

आफ्नो पार्टीको अत्यन्तै कमजोर संगठनका बीच गठबन्धनको भरमा रहेकी झाक्रीले मतदातासँग भोट माग्दा विष्टको आलोचना मात्रै गर्ने गरेकी छन् । विकास निर्माणका ठोस योजना नभन्ने खाली विष्टको आलोचना गर्ने झाक्रीको आवेगी शैली देखेर मतदाता मात्रै हैन गठबन्धनकै कार्यकर्ता रनभुल्लमा परेका छन् ।

चुनावी प्रचारका क्रममा माओवादी र कांग्रेसका केही नेता कार्यकर्ता बोकेर हिंडेकी झाक्रीले मत माग्दा विष्टको आलोचना मात्रै गर्ने गरेकी छन् । ‘नयाँ योजना सुनाउनुहोला, विकास निर्माणका बारे बोल्नुहोला भन्ने थियो’ नेपाली कांग्रेसका एक स्थानीय नेताले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘तर उहाँ त विष्टलाई गाली बाहेक केही गर्नुहुन्न ।’

गुल्मीको विकासमा गोकर्ण विष्टले गरेका कामको स्थानीय जनताले पनि प्रशंसा गर्ने गरेकोमा जनताले नै विश्वास गर्न नसक्ने खालको बोलेपछि आफै रनभुल्ल परेको ती नेताको भनाइ छ । चुनावमा जनतामाझ जाँदा गोकर्ण विष्टले अपनाउने शिष्ट र विकास केन्द्रित छलफल देखेका स्थानीय झाँक्रीको आवेगात्मक शैली देखेर छक्क परेका छन् ।

झार्कीले केहि दिन अघि मात्रै गुल्मीको विकासको अवस्था लाजमर्दो भएको टिप्पणी गरेकी थिइन् । उनको उक्त भनाइको व्यापक आलोचना भएको थियो । ‘उहाँ अस्ति सम्म नेकपा एमालेबाट सोही क्षेत्रको समानुपाति सांसद हुनुहुन्थ्यो’ एमालेका एक नेताले भने, ‘आज सम्म जिल्लाका विकास निर्माणका कुनै चासो उहाँले देखाउनुभएन, महामारी विपत्तिको बेला कहिले सम्झिनु भएन, अहिले चुनावमा भोट माग्न कै लागि तथ्यहिन कुरा गर्दै हुनुहुन्छ ।’

त्यसो त झाक्रीले आइतबार मात्रै विष्टले आफ्नो झोला बोकेर हिँड्नुपर्ने हास्यास्पद तर्क गरेकी थिइन् । यस अघिका चुनावमा आफुले विष्टको झोला बोकेको र यसपाली गोकर्णले आफ्नो झोला बोक्नुपर्ने उनको भनाइको पनि सामाजिक सञ्जालमा आलोचना भएको छ । विष्टका यस अघिका चुनावमा आक्कल झुक्कल मुख देखाउने बाहेक झाक्रीले कुनै भुमिका ननिभाएको एमाले नेताहरुको भनाइ छ ।

उता चुनावी अभियानका क्रममा जिल्लामै रहेका गोकर्ण विष्टले भने प्रतिपक्षी उम्मेदवार या पार्टीका नाम नै नलिइकन भोट माग्ने गरेका छन् । आफुले अहिले सम्म गरेका काम जानकारी गराउँदै आगामी योजना मात्रै विष्टले सुनाउने गरेको स्थानीयले बताए । स्थानीयको प्रतिक्रिया, सुझाव र अपेक्षा सुन्नु नै विष्टको प्रचार शैली रहेको छ ।

प्रकाशित मिति : 17:59