२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

दोस्रो जितको प्रतिक्षामा एलपी साँवा, यस्ता छन एमाले विजयी हुने सात आधार

३० असोज, काठमाडाैँ । लालप्रसाद (एलपी) साँवा लिम्बू अहिले नेकपा (एमाले)को तर्फबाट झापा क्षेत्र नम्बर ४ को उम्मेदवार हुन । झापा क्षेत्र नम्बर–४ मा ०७४ को निर्वाचनमा लिम्बूले ४३ हजार ५ सय १५ मत ल्याएर विजयी भएका थिए । त्यो बेला कांग्रेसका देउकुमार थेबे २६ हजार ८ सय २२ मतसहित दोस्रो भएका थिए । यो पटक पनि यहि क्षेत्रबाट एमालेले लिम्बू नै उम्मेदवार बनाएको छ भने कांग्रेसले थेवेलाई नै उम्मेदवार बनाएको छ । लिम्बु एमालेको जनवर्गिय संगठन राष्ट्रिय उद्योग व्यवसायी महासंघको अध्यक्ष समेत हुन ।

लिम्बू अहिले दोस्रो जितको प्रतिक्षामा छन भने थेवे जित फर्काउने अभियानमा । धरानको हात्तीसार क्याम्पसमा अध्ययनका लागि प्रवेश गर्दा लाहुरे परिवारका साँवाको सोँच डाक्टर बन्ने थियो । पछि त्यहि क्याम्पसको स्ववियु सभापति बनेपछि राजनीतितर्फ बढी झुकाव भएका साँवा काठमाडौँको अमृत साइन्स कलेजमा साइन्स पढ्न थालेपछि डाक्टरको बाटो छाडेर राजनीतिको बाटोमा लागे ।

विद्यार्थी राजनीतिसँगै व्यवसायमा होमिएका साँवा स्थापित व्यवसायी हुन । करिब १० वर्ष वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा लागेका साँवाले व्यवसायीहरुको छाता संगठन बैदेशिक रोजगार व्यवसायी महासंघको अध्यक्षसम्मको जिम्मेवारी सम्हाले । त्यसपछि पूर्णकालीन राजनीतिमा होमिएका साँवा पहिलो प्रयासमा झापाबाट सांसद बन्न सकेनन् । दोस्रो प्रयासमा जित निकालेका उनी तेस्रो प्रयासमा दोस्रो प्रयासको सफलता दोहोर्याउनेमा छन । ‘मैले १० वर्ष व्यवसाय गरेँ । त्यसपछि मेरो इच्छाले विदा लिएँ,’ उनले भने, ‘सांसद पद पनि १० वर्ष भन्दा बढी खाने मेरो चाहना छैन । पहिलो पाँच वर्ष विताए अब जितेपछि पाँच वर्ष ।’

चुनाव जित्नेमा ढुक्क जस्तै देखिएका साँवाले जितका केही आधार पनि प्रस्तुत गरे । ‘चुनाव जितेपछि वा हारेपछि जनतासँग नेताको सम्बन्ध हुँदैन भन्ने आरोप छ,’ उनले भने, ‘पहिलो पटक हारेपछि म पाँच वर्ष जनताकाबीचमा बसेर काम गरेँ । दोस्रो पटक विजयी भए । विजयी भएपछि मैले जनतासँग सांसद कार्यक्रम चलाएर जनताको घरदैलोसम्म निरन्तर पुग्ने योजना अघि सारेँ ।’

उनले वितेका पाँच वर्ष झापाली जनताको घरदैलोमै रहेको भन्दै यो पटक पनि विजयी हुनेमा आफू पूर्ण आशावादी रहेको बताए । ‘मलाई मार्न एक वर्षसम्मको योजना बनाएर गोली प्रहार भयो, म सवार गाडीमा प्वाल परेको र गोलीको निसाना छलिएपछि बाँचको व्यक्ति हुँ,’ उनले व्यवसायमा रहेका बेला मृत्युलाई नजिकबाट देखेको इतिहास कोट्याउँदै भने, ‘यो नाफाको जीन्दगी जनताको सेवामा लगाउने उद्देश्यका साथ राजनीतिमा होमिएको छु । म जनताकै बीचमा हुन्छु ।’

उनले डाक्टर बन्न हिँडेको लाहुेको छोरो अहिले राजनीतिमा रहेको भन्दै झापाली जनताको मुहारमा मुस्कान छर्न सके आफ्नो सफलता त्यहि हुने बताए । ‘मेरो कामको मूल्याङ्कन गरेर पार्टीको क्षेत्रीय कमिटीले सिफारिस गरेर पठायो । त्यसलाई जिल्ला, प्रदेश र केन्द्रले पनि सदर गरेर मलाई उम्मेदवार बनयो,’ उनले भने, ‘मेरो पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि झापा ४ मा खटिरहने एलपी फेरि चाहिन्छ भनेर टिकट दिनुभयो । म अहिले उहाँहरु सबैको विश्वास जित्ने गरी चुनावी अभियानमा सक्रिय छु ।’

साँवाले पत्रकारसँग कुराकानी गर्दै आफूले झापाबाट जित्ने केही आधार पनि प्रस्तुत गरे । साँवाले प्रस्तुत गरेका जित्ने आधार यस्ता छन ।

पहिलो आधार

मैले अघिल्लो निर्वाचनमा प्राप्त गरेको मत परिणाम मेरो जितको पहिलो आधार हो ।

दोस्रो आधार

स्थानीय तहको निर्वाचनको तथ्याङ्कलाई प्रस्तुत गर्दै साँवाले भने मेरो जित्ने अर्को आधार हो यो । साँवाले दिएको स्थानीय तहको तथ्याङ्कलाई हेर्दा यो क्षेत्रबाट एमालेका उम्मेदवारहरूले ३१ हजार २ सय ७२ मत ल्याउँदा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले २८ हजार १ सय ६५ मत ल्याएका थिए । यो क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवारले ६ हजार ३ सय ८२ मत छ ।

राप्रपाका उम्मेदवारले ४ हजार ५ सय ५६ मत पाएका छन् । यहाँ पनि एमाले र राप्रपाको मत जोड्दा एमाले नै बलियो देखिन्छ । अझ त्यसमा पनि साँवा यस क्षेत्रमा लोकप्रिय छन । जनताको सुख र दुःखमा उनी सँगसँगै रहेका छन ।

तेस्रो आधार

साँवाले अन्य आधारमा एमालेको राष्ट्रिय एजेण्डा र आफू सांसद भएपछि भएको विकासलाई देखाए । ‘तेस्रो कारण एमालेले लिएर राष्ट्रियताको एजेण्डा हो,’ उनले भने, ‘त्यहि नीति अनुसार मेरो क्षेत्रमा मात्रै हुलाकी राजमार्गको काम २९ किलोमिटर सम्पन्न भएको छ । यो मार्ग झापा दक्षिणी भेगका जनताका लागि लाइफलाइन बनेको छ । यो विकासले दक्षिणी भेगका जनता उत्साहित छन् । यो कस्ले गरेको भन्दा एमालेको पालामा एलपी साँवाको पहलमा भयो भन्ने प्रष्ट छ ।’

चाैँथो आधार

साँवाले चौथोँ आधारमा आफ्नो क्षेत्रका जनताको प्रत्यक्ष आँखाले देखेको विकासलाई लिएका छन । ‘मेरो क्षेत्रका जनतालाई एलपीले गर्ने रहेछ भन्ने विश्वास जागेको छ,’ उनले भने, ‘मेरो क्षेत्रका उत्तर–दक्षिणका सडक २७ किलोमिटर कालोपत्रे गरेका छौँ अर्थात महाभारादेखि महेन्द्रराजमार्गसम्म विस्तार मेरै पालामा भएको छ । त्यो पनि मेरो क्षेत्रका जनताले प्रत्यक्ष देखेका छन् ।’ ती सडक ओली प्रधामन्त्री शेरधन राई मुख्यमन्त्री र आफू सांसद भएका बेला भएको उल्लेख गरे । अन्य सडक विस्तारका काममा पनि निरन्तर लागेको उनको भनाई छ ।

पाँचाैँ आधार

साँवाले पाँचौँ आधार नदी नियन्त्रणका क्षेत्रमा गरेको कामलाई लिए । ‘नदी नियन्त्रणका सन्दर्भमा मेरो पालामा धेरै काम भएका छन्,’ उनले भने, ‘कन्काई, विरिङ, सताक्षी, कमल खोला जस्ता धेरै नदी छन् । यसको तटबन्धनका नीम्ति हामीले धेरै गरेका छौँ । यो त्यहाँका जनताले प्रत्यक्ष देखेका छन् ।

छैटौँ आधार

छैटाैँ आधार आफ्नो क्षेत्रमा गरेको शैक्षिक गुणस्तरको कामलाई साँवाले प्रस्तुत गरे । ‘हामीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम एमालेका पालामा लागूगर्याैँ । त्यसलाई प्रभावकारी ढंगले झापा क्षेत्र नम्बर ४ मा लागु गरेका छौँ,’ उनले भने, ‘अहिले धेरै विद्यालयमा यो कार्यक्रम प्रभावकारी ढंगले लागु भएको छ । दुईकोठे, चारकोठे भवन, विद्यालय कम्पाउण्ड बनाउने, विज्ञान–प्रविधि ल्याब स्थापना गर्ने, विद्यालय भवनको स्तरोन्नति गर्ने जस्ता काम भएका छन् ।’ उनले आफ्नो क्षेत्रमा ३ वटा नमूना विद्यालय सञ्चालन गरेको पनि जानकारी दिए ।

साताैँ आधार

साँवाले झापामा एलपी साँवा मात्रै होइन एमाले जिताउनु पर्ने भन्दै सातौँ आधारलाई धार्मिक तथा पर्यटकीय र स्वास्थ्य क्षेत्रमा गरेको विकासलाई लिए । एमाले सरकारका पालामा गरेको विकासलाई आधार मान्नु पर्ने भन्दै उनले ओली सरकारका पालामा आफ्नो क्षेत्रमा शिवसातक्षी, टाँगनडुवा र कन्काइमा गरी ३ वटा पालिका स्तरीय अस्पताल निर्माणको चरणमा रहेको पनि जाकारी दिए ।

प्रकाशित मिति : October 16, 2022 at 7:30 am