२० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026

जसले मतको दान गरेर राज्यको निर्णायक तहमा पुर्याए बदलामा उसैलाई आँशु !

-सरोजकुमार तामाङ

जसले मतको दान गरेर राज्यको निर्णायक तहमा पुर्याए बदलामा उसैलाई आँशु !! परिवर्तित ब्यवस्थामा बहुसंख्यक गरिब, किसान, मजदुर, सर्वहारा र श्नमजीवीवर्गको पक्षमा वकालत गर्नु पर्नेमा उही पुरानो सत्ताको नीति र योजना बारम्बार छाप्दै जाने हो भने जनताको सुखको दिन कहिले आउँछ ? के यही हो त जनताको शासन ब्यवस्था ? के यसैको लागि गरिखाने जनताले आफ्नो ज्यानको आहूती दिएर लोकतन्त्र ल्याएको हो ?

हे बालेन शाह !! तिम्रो शक्ति र सामर्थ्य भनेको जनमत हो । तिम्रो उदय गराउने शक्ति पनि जनमत नै हो । यसको दुरूपयोग र अपमान नगर । विगतको अपमानित जनमतको गर्वमा तिम्रो जन्म भएको हो । त्यो यथार्थलाई बुझ्ने चेष्टा गर । पाक्न उम्लिनु पर्छ, यो प्रकृतिक नियम हो तर ज्यादा उमल्यो भने त्यो पोखिन्छ जसको केही अर्थ हुँदैन ।

राज्यको तर्फबाट गरिब, किसान, मजदुर र सर्वहारावर्गको निम्ति गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र खानेपानी जस्ता जनजिविकाका आधारभूत आवश्यकताका वस्तु तथा सेवाहरु ग्यारेन्टीका साथ उपलब्ध गराउनु पर्नेमा गरिब र श्नमजीवी भएरपनि उल्टै राज्यलाई भार नदिई परिवार र आफ्नो गुजारा चलाउन आफैं स्वरोजगारको धन्दा शुरु गर्दा पनि मुनामै तिमी निमोठन उद्त हुन्छौ भने त्यो तिम्रो तानाशाह प्रवृत्ति हो ।

हामीलाई पुरानो मक्कि सकेको ब्यवस्थालाई डेन्टिङ्ग पेन्टिङ्ग गर्दै अघि बढ्नु छैन् । हामी त आर्थिक, सामाजिक र साँस्कृतिक क्रान्तिको जगमा सर्वहारावर्गको प्रतिनिधित्व राज्यको प्रत्येक अंग र निकायहरुमा हुने गरी वैज्ञानिक समाजवादको प्रादूर्भाव यो मुलुकमा गर्न चाहन्छौं । वर्ग समन्वय हाम्रो उदेश्य हैन । वर्गसंघर्षको माध्यमबाट मात्र तमाम गरिब, किसान, मजदुर, सर्वहारा र श्नमजीवीवर्गको उत्थान र मुलुकको दिगो विकास गर्न सकिन्छ । अन्यायको बिरुद्ध लड्ने हाम्रो चरित्र हो ।

-सरोजकुमार तामाङ

कानूनको नजरमा सबै समान हुनुपर्छ, यसमा हाम्रो पनि मत विभाजन हुँदैन तर जब न्यायको कुरा आउँछ तब राज्यको तर्फबाट भेदभाव किन ? दण्ड सजाय तोक्न कानून सबैको लागि बराबर भन्ने तर राज्यको स्रोतसाधनमाथिको पहुँचमा भने शक्तिशालीवर्गहरुको मात्र प्रभूत्व हुने ? अझैपनि यो विभेदकारी नीतिको परिवर्तन राज्यको निर्णायक तहमा पुगेर पनि गर्न सक्दैनौं भने त्यसलाई कसरी जनताको शासन भन्ने ?

हिजो प्रजातन्त्रको वकालत गरेऔं; आज हामी लोकतन्त्रको कुरा गर्दैछौं; भोलि हामी नागरिक समाजको कुरा गर्छौं । आज हामी प्रजा हैनौं, लोक हौं । त्यसैले लोक कल्याणको हितार्थ काम गर । यो नै भोलिको नागरिक समाजको जग हो । त्यो नागरिक समाज नै वास्तवमा वैज्ञानिक समाजवादको आधार हो ।

सामन्तवादमा चरम शोषण, उत्पीडनको बिरुद्ध जनताले आवाज बुलन्द गर्दा सिमित अधिकार सहितको ब्यवस्थालाई प्रजातन्त्र भन्ने हो । जहाँ अझैपनि शोषक, सामन्तीवर्गको प्रभूत्व राज्यको निर्णायक ठाउँहरुमा प्रत्यक्ष या परोक्ष दुवै हिसाबले हुन्छ भने लोकतन्त्रमा जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउँदै त्यही सार्वभौमिकताको आडमा पुँजीवादी ब्यवस्था लागू गर्दै समाजलाई चाहिने उत्पादन केही सिमित ब्यक्तिको हातमा पुग्छ । त्यो बेला वर्गसंघर्ष चरम अवस्थाबाट गुज्रेको हुन्छ ।

आजको ब्यवस्था यही हो । धनी झन धेरै धनी, गरिब झन धेरै गरिबीको खाड्लमा फस्न पुगेको छ । यस्तो असमानताको स्थितिलाई सदाको निम्ति बिदा गर्न सर्वहारावर्ग अधिनायकत्व राज्यसत्ता निर्माण गर्नु पर्छ । त्यो विस्मताबाट पार पाउँदै बहुसंख्यक जनसमुदायको हितार्थ प्रयोग गरिने एकमात्र वैकल्पिक हतियार भनेकै वर्गसंघर्ष हो ।

जनतामा जब चेतनाको स्थर उच्चतम हुँदै जान्छ र उसका आधारभूत आवश्यकताका बिषयहरु राज्यको तर्फबाट सम्बोधन हुँदै जान्छ, त्यो बेला वृहत समाजको हितको बारेमा बुझ्ने-बोल्ने फूर्सद जनताबीच पैदा हुन थाल्छ । त्यो नै नागरिक समाज हो र हामी मार्क्सवादीहरुले भन्ने गरेको वैज्ञानिक समाजवादको आधार त्यही हो । त्यो बेला जनता चेतनायुक्त नागरिकमा परिवर्तन भैसकेको हुन्छ । तर, यो बेला हामी लोकतान्त्रिक ब्यवस्थाभित्र भएको हुँदा अहिलेलाई हामी हाम्रा आधारभूत आवश्यकताका बिषयहरुमा नै संघर्ष गरिरहेका छौं । त्यो भनेको मूल त गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र खानेपानी हो ।

यसैका लागि बहुसंख्यक नेपाली जनताहरु भौतारी रहेका छन् । यस्तो बेला जनमनलाई ठेस पुग्ने गरी जनप्रतिनिधिहरुले काम कारवाहीहरु अगाडी बढाउँछ भने पुग्नु पर्ने गन्तब्यको मार्ग धुमिलिदै समाज आन्तरिक द्धन्दमा फस्न थाल्छ र त्यो बेला हामी नजानिदोँ पाराले भारतीय विस्तारवाद, वैदेशिक एकाधिकार पुँजीवाद र साम्राज्यवादको शिकार हुन पुग्छौँ । यसरी राज्य सधैँ अस्थिर हुने अवस्था सृजना नगरौं । विकल्प दिएर मात्र काम कारवाही शुरु गरौं । सबैको भलाई यसैमा रहेको छ ।

प्रकाशित मिति : October 15, 2022 at 10:40 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/