मतदान अघि नै गुम्यो सत्ता गठबन्धनको एक सिट, एमालेका विष्णु पाैडेललाई फाइदा
२५ असोज, काठमाडौँ । चार दलमा सीमित भएको सत्ता गठबन्धनको एक सिट मंसिर ४ को मतदान अघि नै गुमेको छ । पाँच दलीय (लोसपासहित) गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका रूपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजु गुरूङको उम्मेदवारी निर्वाचन आयोगले मंगलबार खारेज गरिदिएसँगै गठबन्धनको एक सिट गुमेको हो ।
नेकपा एकीकृत समाजवादीको भागमा परेको उक्त प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवार गुरूङको अयोग्यताका कारण सिट गुमाएक हो । यसको प्रत्यक्ष लाभ भने नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एमाले उपाध्यक्ष विष्णु पाैडेलले पाउने भएका छन ।
अदालतले बैंकिङ कसुरमा जरिवना गरेकोले गुरुङ उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज भएको जानकारी दिएको हो । गुरुङलाई अदालतले बैंकिङ कसुरमा २ हजार रुपैया जरिवाना गरेको र उक्त जरिवाना सहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि उनको उम्मेदवारी खारेज गरेको हो ।
गुरुङ सहित नेकपा एकिकृत समाजबादीका बरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनाल सहितका नाममा रहेको कम्पनीले काठमाण्डौको सुर्य बिनायकको वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एण्ड सप्लार्यस प्रालिका अध्यक्ष अन्जीत बिष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरु बिरुद्ध २०७६ साल साउन ६ गते मुद्धा दर्ता गरेका थिए।
काठमाण्डौ जिल्ला अदालतले नर्थ वेस्ट नेपाल ईन्फ्रा प्रालिका अध्यक्ष राजु गुरुङ र सन्चालक निर्भिक चित्रकार खनाल, फुर्वा छिरीङ सेर्पा, सन्जिप राई र सक्तीमान डंगोल समेतले दिएको चेक अनादर सम्वन्धी मुद्धामा २०७८ मंसिर १२ गते उनीहरु माथी जरिवाना गर्ने फैसला गरेको थियो।
गुरुङ लगायतलाई जनही २ हजार जरिवना र २ करोड २५ लाख रुपैयाको चेक काटिएको मिति देखि २०७६ साउन ६ गते सम्मको सयकडा १० प्रतिसतका दरले कानून बमोजिमको ब्याज सहित भुक्तानी दिनु पर्ने फैसला गरेको थियो।
गुरुङहरुको उक्त कम्पनीले २०७३ साल फागुन २०गते २५ लाख, फागुन ३० गते २५ लाख चैत्र १५ गते २४ लाख, चैत्र ३० गते ५४ लाख, २०७४ बैसाख १५ गते २५ लाख, बैसाख ३० गते ३० लाख, जेठ १५ गते ३५ लाख रुपैया गरी ७ वटा चेक दिएकोमा बैंकमा प्रयाप्त रकम नभएको भन्दै फिर्ता भएपछि उनीहरु बिरुद्ध उजुरी परेको थियो।
प्रकाशित मिति : October 12, 2022 at 12:45 am









