२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

लक्ष्मण थारुको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

२४ असोज, कैलाली । प्रतिनिधिसभा सदस्यका लागि कैलाली जिल्लाको निर्वाचन क्षेत्र—५ बाट उम्मेदवारी दर्ता गराएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु विरुद्ध उजुरी परेको छ । उजुरीमा थारुको उम्मेदवारी खारेजीको माग गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले धनगढी उपमहानगरपालिकाका रामबहादुर सिंहले थारुको उम्मेदवारी विरुद्ध आज उजुरी दर्ता गराउनुभएको जानकारी दिनुभयो । अर्यालले भन्नुभयो, “आज उजुरी दर्ता भएको छ, यसको छानविनको प्रक्रियामा जाँदैछौँ ।”

विसं २०७२ मा टीकापुर घटनामा अदालतबाट दोषी ठहर थारुले आइतबार वारेसनामामार्फत् आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो । प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा विभिन्न दल र स्वतन्त्र गरी ४९ जनाको उम्मेदवारी परेको छ ।

यस्तै प्रदेशसभाका १० निर्वाचन क्षेत्रमा विभिन्न दलका र स्वतन्त्र ९३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । प्रतिनिधिसभातर्फ सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारी क्षेत्र नं ५ मा (धनगढी क्षेत्र) परेको छ । यहाँ पाँच जनाले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

प्रदेशसभातर्फ सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारी निर्वाचन क्षेत्र ३ को ख मा सात जनाले दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गराउनेमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीलगायतका दल रहेका छन् । यसै बीच टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेकपा (एमाले) का प्रदेश समिति सदस्य यज्ञराज बाँस्तोलाले पार्टी परित्याग गर्नुभएको छ ।

प्रकाशित मिति : 18:42