२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

विवादित ठेकेदार शारदा अधिकारीले वर्षमान पुन र ओनसरी घर्तीलाई पनि खुमलटारमै दिए अर्को घर


१४ असोज, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछि सोही पार्टीका अर्का नेता उपमहासचिव वर्षामान पुन पनि विवादित ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बस्दै आएको खुलासा भएको छ । उनी पछिल्लो एक वर्षयता ठेकेदार अधिकारीको घरमा बस्दै आएका हुन ।

ललितपुर महानगरपालिकाको वडा नम्बर १५ स्थित खुमलटार क्षेत्रमा रहेको मगरगाउँ मार्गको ३५ नम्बरको आलिसान बंगालमा बस्दै आएका छन । पुन तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको उर्जामन्त्रीबाट राजिनामा दिएर बाहिरिएपछि ठूलो मन्दिर सहितको अधिकारीको उक्त घरमा बस्दै आएका हुन । त्यसअघि उनी मन्त्री भएको समयमा मन्त्री क्वार्टरमा बस्दै आएका थिए ।

प्रचण्डले शारदा अघिकारीको घर छाड्ने र अर्को घर खोजिरहेको सार्वजनिक घोषणा गरेको ६ महिनापछि नै पुन अधिकारीकै अर्को घरमा बस्न पुगेका हुन । काठमाडौँ उपत्यकामा आधा दर्जन घर भएका अधिकारीले प्रचण्डलाई पनि निःशुल्क घर उपल्बध गराउँदै आएका छन । पुन पनि कुनै शुल्क नतिर्नेगरी नै अधिकारीको घरमा बसेको उनी निकटकाले बताउने गरेका छन ।

पुन अहिले बसिरहेको घर शारदाको पुरानो मध्येको हो । चारैतिर कम्पाउन्डले घेरिएको घरको आँगनमा ठूलो मन्दिर समेत रहेको छ । तीनतले बंगलामा सुरूवाती  दिनमा अधिकारी आफैँ बस्ने गरेको माओवादी केन्द्रकै कार्यकर्ताहरू बताउँछन । घरमा बसेको विषयमा वर्षमान पुन र उनको धर्मपत्नी माओवादी नेतृ ओनसरी घर्तीसँग बुझ्न खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन ।

शारदाको बारेमा सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरू पनि नकारात्मक समाचारहरू प्रकाशित हुन थालेपछि निकटकाहरूलाई पुनले अब चाँडै नै नयाँ ठाउँमा सर्ने बताउँदै आएका छन । ललितपुर महानगरपालिकाकै खुमलटार क्षेत्रमा रहेको अर्को बंगलामा प्रचण्ड बस्छन भने सोही महानगरको मानभवनमा रहेको बंगलामा अधिकारी आफैँ बस्दै आएका छन ।

अधिकारी राजनीतिक प्रभाव र सेटिङमा ठेक्का हत्याउने र काम नगर्ने ठेकेदारको सूचीमा अग्रस्थानमा रहेका छन । उनले जिम्मा लिएर सडक अलपत्र पारिदिँदा नुवाकोटको ककनी र भक्तपुरको नगरकोटको अवस्था विगत सात वर्षदेखि दयनीय बन्दै गएको छ ।

नुवाकोट स्थायी घर भएका अधिकारीले ओली नेतृत्वको तत्कालीन सरकारको समयमा रसायनिक मलको ठेक्का लिएर मल नै नल्याइ किसानको बीचमा हाहाकार सिर्जना गराएका थिए । पछि उनले माओवादीकै कार्यकर्ता रहेका बिके भण्डारीहरूसहितको मिलेमतोमा नयाँ कम्पनी खडा गराएर मल ल्याउने प्रयास गरेका थिए ।

यद्यपी भन्सारमा मल आइपुगेको तीनदिनपछि भण्डारीमाथि अख्तियार दुरूपयोग अनुस्न्धान आयोगले करोडौँको भ्रष्टाचार मुद्दा दायर गरेको थियो । भण्डारी भने पुन उर्जामन्त्री हुँदा उनको सचिवालयमा कार्यरत रहेका पूर्व कर्मचारी समेत हुन ।

उनी बिध ल्याबको नाममा पछिल्लो समय मेडिकल र बिध मेनेजमेन्टका नाममा अन्य विभिन्न सामाग्री सप्लाइको काम गर्दै आएका छन । जनकशिक्षा सामग्री केन्द्रको कागज सप्लाइको काम समेत उनै भण्डारीले पाएका छन । उनले स्थानीय निर्वाचनको समयमा मतगणना स्थलहरूमा सीसीटीभी जडानको काम समेत गरेका थिए । उनै भण्डारी पछिल्लो समय गुल्मी २ मा माओवादीबाट चुनाव लड्न पाउनुपर्ने माग सहित प्रचण्डको घरमा पुगेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार १६:२९