७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

मेरो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन सक्दैनः वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन नसक्ने बताएका छन् । तनहुँको म्याग्दे–१ गुणादीका स्थानीयवासीले दमौली आउने पानी बन्द गरिदिएपछि पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी आफ्नो भनाइलाई विभिन्न माध्यमबाट तर्कसहितका व्याख्यासहित प्रेसित हुँदा गुणादीवासीको भावनामा ठेस पुगेकामा क्षमायाचना गरेका छन् ।

वरिष्ठ नेता पौडेलले एकआपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित सबैमा आग्रह गरेका छन् । शुक्रबार दमौलीमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले गुणादीको पानीका विषयमा बोलेपछि स्थानीयवासीले त्यसबारेमा आपत्ति जनाउँदै दमौली आउने पानीको मुहान बन्द गरी दिएका छन् । पौडेलले जनताको स्वास्थ्य र जनताको हित विपरीत कुनै काम गर्नु राम्रो नभएको बताउँदै त्यसतर्फ ध्यान पुर्याउन आग्रह गरेका छन् । गुणादीका स्थानीयवासीले पानीको मुहान बन्द गरिदिएपछि दमौलीमा पानीको अभाव सुरु भएको छ ।

प्रकाशित मिति : September 13, 2022 at 7:00 pm