३ असार २०८१, सोमबार | Mon Jun 17 2024

बालअधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाही


२८ भदाै, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानमा उल्लेखित बालअधिकार कार्यान्वयनको लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रदेशको समाजिक विकास मन्त्रालयले राष्ट्रिय बालअधिकार दिवसको पूर्वसन्ध्यामा सोमबार वीरेन्द्रनगरमा आयोजित बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा बालबालिकाको प्रश्नसँगको अन्तरक्रियामा मुख्यमन्त्री शाहीले सबै पक्षले हातेमालो गरे मात्र कानुन कार्यान्वयनमा सहजता हुने बताए ।

मुख्यमन्त्री शाहीले बलात्कार जस्तो जघन्य अपराध नेपालमा ठूलो समस्या बनेकोतर्फ प्रदेश सरकार गम्भीर रहेको भन्दै यस्ता अपराध हुन नदिन सबै मिलेर हातेमालो गर्नुपर्नेमा जोड दिए । “यस्ता अपराध न्यूनीकरण गर्न सबै जुट्नुपर्यो, म अस्ती जुम्लामा जाँदा चार वर्षीया बालिका बलात्कृत भएको घटना थाहा पाए । यस्ता घटना न्यूनीकरणको लागि हामी सबै एक भएर अगाडि बढौँ ।” उनले भने, “छुवाछूत विरुद्धको कानुन त विसं २०२० मा बनिसकेको थियो नी, तर छुवाछूत त अहिलेसम्म नै कायम छ, यसो हुनु भनेको चेतनाको कमीले हो ।

त्यसैले हामी सबैले हातेमालो गरेर बालअधिकार सुनिश्चित गर्न सक्छौँ ।” बालविवाह न्यूनीकरणमा सरकार लागि रहेको भन्दै उनले यसको लागि पनि सचेतना नै आवश्यक हुने उहाँको भनाइ छ । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकार बालबालिकाको शिक्षा, स्वास्थ्य र अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको दोहोर्याए ।

मुख्यमन्त्रीलाई बालबालिकाको प्रश्नै प्रश्न

कार्यक्रममा बालबालिकाले मुख्यमन्त्री शाहीलाई बालअधिकारका कुरा कागजमा मात्रै नभएर कार्यान्वयन पनि जोड दिन माग गर्दै प्रश्नैप्रश्न सोधेका थिए । उनीहरुले बालबालिका अहिले पनि श्रममा परिरहेको, बालिका बलात्कार बढ्दै गएकोतर्फ सरकारले किन ध्यान दिन नसकेको भन्दै मुख्यमन्त्रीलाई प्रश्न गरेका थिए । जनमावि सुर्खेतमा कक्षा १२ पढ्दै गरेकी आसिका खत्रीले बालिका बलात्कृत भइरहेको भन्दै बलात्कृत भएपछि पैसामा न्याय साटिने प्रवृतिको अन्त्य गर्न सरकारको किन ध्यान पुग्न नसकेको भन्दै प्रश्न गरे । “बलात्कृत भएको बालिकालाई न्याय त दिइएला, उसको जीवन नष्ट भइसकेको हुन्छ, तर न्याय जग्गा र पैसामा साटेर न्याय दिलाइन्छ । यसले बालअधिकार हनन गर्दैन र ?” उनको प्रश्न थियो ।

सुर्खेतकै कृति काफ्लेले पनि कर्णालीमा बालविवाहको अवस्था गम्भीर रहेको भन्दै बालविवाह विरुद्धका बनेका कानुनहरु कार्यान्वयन हुन नसक्नुको कारण जिज्ञासा राख्दै भने, “हाम्रो ठाउँमा धेरै बालविवाह भइरहेका छन । त्यो मुख्यमन्त्रीलाई पनि थाहा छ, बालविवाह विरुद्धका कानुनहरु पनि बनेका छनु । मुख्यमन्त्रीले ति कानुन सक्रियतापूर्वक किन कार्यान्वयन गर्न सक्नुभएको छैन ?”

सुर्खेत जनमाविका छात्र खगेन्द्र विकले नेपालको संविधानले व्यवस्था गरेको बालअधिकार अन्तर्गतका जोखिममा रहेका बालबालिकाको राज्यले संरक्षण गर्ने भनिएको बताउँदै यसको कार्यान्वयनको अवस्थाका बारेमा मुख्यमन्त्री शाहीलाई सोधेका थिए ।

कार्यक्रममा विभिन्न जिल्लाका बालबालिकाहरुले टेलिफोन र भिडियोमार्फत मुख्यमन्त्रीलाई प्रश्न गरेका थिए भने राउटे समुदायका बालबालिकाले राउटे बालबालिकालाई प्रदेश सरकारले के गर्छ ? भनेर प्रश्न सोधेका थिए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद कार्पी, सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी वक्ताको रुपमा रहेका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलवार १३:२५