२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

–शम्भु गजुरेल ‘अज्ञानी’ 

छोरी माइत आइदेउन
गुन्यु चोली लाइदेउन
दर पकाइ खाइदेउन
भाइ मुग्लान झरेको छ
मन मेरो मरेको छ
तिम्रो मात्र आश बोकि
बसेका छौ सास रोकि
घिरौला र करेला छन
बारि भरी बरेला छन
टिपि देला कस्ले बरै
सुनसान भयो घरै!
पापी तिज आयो किन
कसो गरि काट्ने दिन!
तिज आउनु भन्दा बरु
लाग्छ मलाइ छिटो मरु

जेठो छोरो मुग्लानमा
कान्छो खाडितिर
सुर छैन ती बुढाको
जान्छन झाडीतिर
मुग्लानिया जेठो रुन्छ
जोइले कुटि भन्छ
कान्छो मोरो साउदिमा
भेडा चराइ रन्छ
रितो चोटा छैन कोठा
परालको छानु
बुढा भयौ दुई हामी
दैव कता जानू!

बुढालाइ सेवा गर्ने
कानुन आको छरे
जेठी छोरी समितिको
नेता भकी अरे
हर्ष भयो सुन्दा कुरो
औधी सारो तर
हिउद बर्षा उदाङ्गो छ
म बुढिको घर!
तिज आयो भन्छन सबै
नाच्छन उर्लिएर
भक्कानो ले रुन्छ मन
मेरो कुर्लिएर
आउली छोरी भनौ भने
पिउदै होलि ठर्‍रा
माइक समाइ भाषणमा
कुरा गर्ली झर्‍रा

तिज आउनु कता कता
दर खाने अहिले
मासु रक्सी डिस्को जाने
थिएन त पैले
जिनिस पाइट चुच्छे जुत्ता
बुलुज टेरलिङ्गे
लाज लुकाइ चुरोट तान्ने
कस्तो गोरुसिङ्गे
देखासेखी चर्को भयो
पचाउनै गार्‍हो
नक्कली सुन देखाउनेको
चलेको छ धारो

के को दान के को धर्म
देखावटी सारा
छोरी हिड्छे लगाएर
बनवटी नारा
आगनी मा बुढा रुन्छन
पिढी मेरो साथी
भुत कुद्ने दोबाटो झै
भयो दिन राती
न माइती को चाह हजुर
न चाडको मेलो
अहंकार र मैमत्ताको
हुन थाल्यो खेलो
कस्तो तिज नाता गोता
हराएको जस्तो
चाड पनि नकच्चरो
कति सार्‍है सस्तो
तिज झनै मात लाग्ने
हरे कस्तो कस्तो

बेलकोट गढी ९ नलगाउ
नुवाकोट

प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार १५:०३