१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

रात्री क्लबमा नक्कली मदिरा, कोटेश्वरबाट पक्राउ पर्यो गिरोह (भिडियो)

१० भदाै, काठमाडाैँ । प्रहरीले नक्कली मदिरा उत्पादन गरि विक्रि बितरण गर्ने गिरोहका ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै बरामद भएका बिभिन्न ब्राण्डका नक्कली मदिरा सहित पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो ।

कोटेश्वरमा बिभिन्न ब्राण्डका नक्कली मदिराको बिक्रि बितरण हुने गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा हरि वली भन्ने व्यक्तीको संलग्नता पाइएको र निजको डेराबाट डबल ब्ल्याक, ब्ल्याक लेबल लगाएतका मदिराहरु चार कार्टुन सिल प्याक गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

त्यस्तै सो व्यक्तिसंगको सोधपुछ गर्दा नक्कली मदिरा उत्पादन गर्ने मुख्य व्यक्ति र अन्य तीन जनाको पहिचान तथा फ्याक्ट्री भक्तपुरको दुवाकोटमा रहेको खुल्ला आएको र उत्पादनकर्ता भगवान बस्नेत समेतलाई नियन्त्रणमा लिएर फ्याक्ट्रीमा छापा मार्दा ठूलो परिमाणको नक्कली मदिरा बरामद भएको प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भरत बहादुर बोहोराले जानकारी दिए ।

पक्राउ पर्नेमा हरि वली, भगवान बस्नेत, बिशाल वली , मनोज खत्री र गोपी श्रेष्ठ रहेका छन । प्रारिम्भक अनुसन्धानका क्रममा उक्त मदिराहरु रात्री क्लब, बिभिन्न मदिराका डिलरहरु, दोहरी डान्सवार लगाएतबाट माग भई उत्पादन गरि बिक्रिका लागि पठाइने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु उपर कालो बजारी तथा केहि अन्य सामाजिक अपराध तथा सजाय ऐन कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार १७:४७