५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बैंकमा सेयर धितो राखेर ऋण लिने लगानीकर्ता बढे


५ भदाै, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले बैंकमा सेयर धितो राखेर ऋण लिने लगानीकर्ता बढेको बताएको छ । बैंकका अनुसार वाणिज्य बैंकहरूबाट समग्र ऋण लिनेको लागत एक वर्षमा ३७ प्रतिशतले बढेको थियो । तर, सेयर धितोमा जाने कर्जाको लागत एक वर्षमा ५०.४९ प्रतिशत छ । गत आर्थिक वर्षको साउनमा बैंकले सेयर धितोमा दिने कर्जाको ब्याजदर ८.१४ प्रतिशत थियो । सेयर धितोमा दिने कर्जाको ब्याजदर हरेक महिना बढ्दा असार मसान्तमा १२.२५ प्रतिशत पुगेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको साउन महिनामा सेयर धितोमा जाने कर्जाको ब्याजदर ८.१४ प्रतिशत रहेको थियो । साउन महिनामा लगानीकर्ताहरुले २७ वटा वाणिज्य बैंकबाट ९२ अर्ब ८ करोड ५० लाख रुपैयाँ कर्जा लिएका थिए । यस्तै भदौ महिना ब्याजदर बढेर ८.२६ प्रतिशत पुगेको थियो । भदौमा बैंकले लगानीकर्तालाई ८८ अर्ब ४३ करोड ७० लाख रुपैयाँ कर्जा दिएका छन् । असोजमा बैंकको ब्याज बढेर ८.३६ प्रतिशत पुग्यो । त्यस महिना बैंकबाट लगानीकर्ताले ८८ अर्ब २० करोड ६० लाख कर्जा लिएका थिए ।

निरन्तर बढेको बैंकको ब्याजदर वैशाख महिनामा भने ११.९० प्रतिशत रहेको छ । वैशाख महिनामा लगानीकर्ताले बैंकबाट सेयर धितोका लागि ७५ अर्ब १६ करोड ८८ लाख रुपैयाँ कर्जा लिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै जेठ र असारमा बैंकको ब्याजदर १२ प्रतिशत भन्दा बढी रहेको राष्ट्र बैंकले जनाएको छ । जेठमा लगानीकर्ताले बैंकबाट सेयर धितो कर्जाको रुपमा ७१ अर्ब ७१ करोड ३७ लाख र असारमा ६४ अर्ब ८१ करोड ८९ लाख रुपैयाँ लिएको राष्ट्र बैंकको तथ्यांकले  देखाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आईतवार १३:३६