२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

महिला सशक्तीकरणमा योगदान दिने पत्रकार महिला सम्मानित

२४ फागुन, काठमाडाैँ । एक सय आठौँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अनेरास्ववियु (क्रान्तिकारी)ले पत्रकार महिलालाई सम्मान गरेको छ ।

पत्रकारितामार्फत महिला सशक्तीकरणका मुद्दा बाहिर ल्याउन योगदान पु¥याएको भन्दै पत्रकार महिलालाई सम्मान गरिएको हो । कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले सो सम्मान प्रदान गर्नुभयो ।

सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघका सचिव लक्ष्मी पुन, प्रेस चौतारी नेपालका उपाध्यक्ष टीका विष्ट, सचिव देविका घर्तीमगर, सञ्चारिका समूहका महासचिव कमला पन्थी, कोषाध्यक्ष यशोदा अधिकारी, प्रेस सेन्टर नेपालका सचिव आस्था केसी, क्रियाशील पत्रकार महिलाका महासचिव रामकला खड्कालगायत हुनुहुन्छ ।

यसैगरी पत्रकारहरु मञ्जु कार्की, कल्पना भण्डारी, कृति भट्टराई, रुवी रौनियार, देवकी विष्ट, कविता थापा, सञ्चिता घिमिरे, रुपनी जिएम, सिर्जना दुवाल र कलाकार नानी थापा सम्मानित हुनुभयो ।

मन्त्री थापाले बलात्कारजस्ता जघन्य महिला हिंसाका घटनामा तत्काल उजुरी र सूचना दिन ११४५ नंको टोल फ्री नम्बर उपलब्ध गराइएको र त्यस्ता घटनामा दोषीलाई कडा कारबाही गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य अञ्जना विशंखेले श्रमिक महिलालाई समान शिक्षा र ज्यालाको अधिकार दिलाउन वामपन्थीको सरकार सफल हुनुपर्ने बताउनुभयो ।

अनेरास्ववियुका अध्यक्ष नविना लामा, क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका महासचिव ऐन महरलगायतले पत्रकार महिलाको सम्मानले प्रतिकात्मक रुपमा आम श्रमजीवी महिलाको सम्मान हुने बताउनुभो ।

प्रकाशित मिति : March 8, 2018 at 2:17 pm