सत्तासीनले जे गरे पनि हुन्छ भन्ने अहंकारी शैलीले लोकतन्त्र लज्जित बनायो : नेता केसी
१६ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नीतिगत भ्रष्टाचारका लागि राष्ट्रिय सहमति कायम भएको आरोप लगाएका छन् ।
केसीले सामाजिक सञ्जालमार्फत सत्तासीनले जे गरे पनि हुन्छ भन्ने अहंकारी शैलीले लोकतन्त्र लज्जित भएको आरोप लगाएका हुन् । अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिनमा संसदीय समितिका पक्ष विपक्ष भए पनि प्रतिपक्षले प्रभावकारी ढंगले प्रतिरोध नगरेको भन्दै भ्रष्टाचारमा सबै पक्षको सहमति जुटेको उनले आरोप लगाएका छन् ।
केसीले लेखेका छन्, ′बजेट निर्माण बारे संसदीय छानबिनसमितिमा अल्पमत र बहुमत भयो,तर सँसदमा ठोस विरोध भएन ? सबै पक्षमा सहमति पूर्ण सौदाबाजी देखियो। नीतिगत भ्रष्टाचार राष्ट्रिय सहमतीकै अङ्ग बन्यो,लोक लज्जा र जनमतको उपहास भयो। सत्तासीनले जे गरे पनि हुन्छ भन्ने अहंकारी शैलीले लोकतंत्र लज्जित बनायो ।‘
प्रकाशित मिति : August 1, 2022 at 6:32 pm









