१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

काभ्रेस्थलीमा परिवारको तीन सदस्यको हत्या गरेर दिनेश पाण्डेले आत्महत्या गरे

१६ साउन, काठमाडाैँ । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजनाको शव फेला परेको छ । तारकेश्वर नगरपालिका–२ मा बाबु, आमा, छोरा र छोरी मृत भेटिएका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले दिनेश पाण्डे र सुनितासहित दुईजना छोराछोरीको शव फेला परेको जानकारी दिए । पाण्डे झुन्डिएको अवस्थामा फेला परेको र अरूको शरीरमा घाउ, चोटपटक लागेको देखिएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक, प्रहरी वृत्त बालाजु र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली घटनास्थलमा पुगेको छ । सोमबार बिहान स्कुल जाने बेलामा एकजना बच्चाले झ्यालबाट देखेर प्रहरी र स्थानीयवासीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो ।

भित्रबाट ढोकाको चुकुल लगाएर शव निकालेकाले सबैले आत्महत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । यद्यपि मृतकका शरीरमा चोटपटक भएकाले घटना शंकास्पद मानिएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार १३:१८