६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

कांग्रेस प्रवेश गरेको दुई महिनामै भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त


९ साउन, काठमाडाैँ । नायक भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेको दुई महिनामै चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस भएका तीन जना मध्येबाट केसीको नाममा निर्णय गरेको मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।

केसी तीन कलाकारसहित गत वैशाख २९ गते प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेपाली कांग्रेस प्रवेश गरेका थिए । सोमबारको मन्त्रिपरिषद बैठकले केसीलाई आउँदो दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा केसी नियुक्त भएका हुन ।

काे हुन भुवन केसी ?

लामो समयसम्म राजसंस्थाको वकालत गर्दै आएका अभिनेता भुवन केसी सांसद् बन्ने लोभले राजनीतिमा प्रवेश गरेका थिए । २०७० मा एमालेबाट काठमाडौं १ सांसद उठ्न खोजेका थिए । तर एमालेले विद्या न्यौपानेलाई टिकट दियो ।

२०७४ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफूलाई चलचित्र विकास बोर्डको अध्यक्ष बनाउन केसीले आग्रह गरे । ओलीले हेरौँला भन्ने जवाफ दिए । भुवन केसी तत्कालीन एमालेमा माधव नेपालनिकट भएकाले पनि ओलीले उनीप्रति खासै चासो देखाएनन् । त्यसपछि विरक्तिएका भुवन बोर्ड अध्यक्ष बन्ने सर्तमा कांग्रेस प्रवेश गरे । बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसमा प्रवेश गराए र उनी ठीक २ महिनापछि सोमबार साउन ९ गते चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन ।

प्रकाशित मिति : ९ श्रावण २०७९, सोमबार २०:४१