नुवाकोट क्षेत्र नम्बर १ मा एमालेबाट बलराम आचार्य चुनाव लड्ने !
८ साउन, नुवाकोट । नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य बलराम आचार्यले आगामी निर्वाचनमा मैदानमा उत्रिने संकेत गरेका छन । उनले नुवाकोट क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्ने संकेत गरेका हुन । दुप्चेश्वर गाउँपालिका स्थायी घर भएका उनले पछिल्लो समय जिल्ला नेतृत्वको कार्यशैलीप्रति आसन्तुष्टि जनाउँदै आएका छन । समन्वयकारी छवि बोकेका आचार्य पूर्व शिक्षक समेत हुन ।
तत्कालीन नेकपा एमालेको सरकारले उनको क्षमताको कदर गर्दै भूमि व्यवस्थापन आयोग नुवाकोटको विज्ञ सदस्यमा मनोनित समेत गरेको थियो । पैसा बाहेक सबै भएका आचार्यले नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महत र नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङसँग चुनावी प्रतिस्पर्धामा जाने रहर गरेका हुन । उनी नेपाली कांग्रेसका अर्का नेता अर्जुननरसिंह केसीका आफन्त समेत हुन ।
आचार्यले आइतबार राति सामाजिक सञ्जाल मार्फत अर्जुननरसिंह केसी आफ्नो परिवारको सदस्य भए पनि विगतमा बिद्रोह गरेर एमालेमा लागेको भन्दै कसैको लोभ र दबाबमा नपरी अघि बढ्ने स्पष्ट संकेत देखाएका छन । आचार्यले भनेका छन, ‘म जन्मेको गाउँ र अर्जुननरसिंह केसीको गाउँ एउटै । उनी वडा नम्बर तीन म जन्मेको वडा नम्बर ८ । मैले चिन्दा जान्दा अर्जुननरसिंह नुवाकोट जिल्लाका जिल्ला सभापति थिए । उनी मेरो परिवारको सदस्य पनि थिए । मेरो अग्रज थिए । मैले बाल चेतनाले सोही समयमा केसीको राजनीतिक लाइनमा विद्रोह गरे । मतलब म कम्युनिष्ट भएँ । गणेश पण्डितको संगतमा पुगे । त्यो न्यानो र मायालुस्पर्शी हात अझै सम्झनामा छ । उनी माले बने तर मैले एमाले छाड्न सकिन । मेरा दुबै अग्रजप्रति सम्मान गर्दै म मैदान मै छू । तादीमा धेरै पनि बगे । म दृढ छु र अविरल छु । पद पैसा र पावर मेरो लागि गौण हुन् । हरेक भांगला र भल बेहोरेको छु ।’
प्रकाशित मिति : July 24, 2022 at 9:33 pm









