जसपाका केन्द्रीय नेताहरू एमालेमा प्रवेश, महासचिव पोखरेलले गरे स्वागत
३१ असार, काठमाडौं । जनता समाजवादी पार्टीका दुई केन्द्रीय सदस्य तथा दुईजना मधेश प्रदेश सदस्य नेकपा (एमाले) मा प्रवेश गरेका छन् । उनिहरूलाई आज पार्टी कार्यालय च्यासलमा पार्टी महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालले स्वागत गरे ।
एमालेमा प्रवेश गर्नेहरूमा जनता समाजवादी पार्टीका संघीय परिषद् सदस्यद्वय भोला मिश्र र अमरेन्द्र कुमार झा तथा मधेश प्रदेश सदस्य ममता मिश्र पाठक र विमला भट्टराई छन् ।
सो अवसरमा महासचिव पोखरेलले मुलुकमा राजनीतिक स्थायित्वका लागि हाम्रो पार्टीलाई बलियो शक्तिका रुपमा विकास गर्नका लागि भूमिका महत्वपूर्ण हुने बताए । महासचिव पोखरेलले भने, हाम्रो पार्टीप्रति मधेशमा हिजो घृणा भाव थियो तर एमाले के हो भन्ने त्यहाँका जनताले बुझेपछि आज त्यो घृणा समर्थनमा बदलिएको छ ।
मधेशमा अहिले हाम्रो पार्टीप्रति व्यापक जनलहर चलिरहेको छ । आगामी निर्वाचनमा मधेशमा एमालेको बहुमतलाई कुनै पनि शक्तिले रोक्न नसक्ने महासचिवले बताए । उनले भने, तपाईंहरूको प्रवेश राष्ट्र र राष्ट्रियता जोगाउने अभियानमा कोशेढुंगा सावित हुनेछ ।
एमालेमा प्रवेश गरेकाहरूकाे तर्फबाट जसपाका संघीय परिषद् सदस्य भोला मिश्रले जसपाको मूल नेतृत्वमा दम्भ, जातीय संकीर्णता र एकात्मकवादी चिन्तन रहेका कारण पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको बताए।
प्रकाशित मिति : July 15, 2022 at 8:01 pm









