९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

बैतडीकाे स्थानीय तहमा २४ प्रकारका सेवा निःशुल्क

१६ भदौ,बैतडी । स्थानीय तहहरुले करको दायरा बढाइरहेका बेला यहाँको दशरथचन्द नगरपालिका–२ देहिमाडौँ वडा कार्यालयले २४ प्रकारका सेवा निःशुल्क गरेको छ । गरीब नागरिकलाई पनि सरकारी कामकाजका लागि सहज गराउन यस्ता विभिन्न सेवा निःशुल्क प्रदान गर्ने घोषणा गरिएको वडाध्यक्ष रनबहादुर बोहराले जानकारी दिनुभयो ।

नागरिकता, नागरिकताको प्रतिलिपि, मोही लागत कट्टा, व्यापार व्यवसाय बन्द, मिलापत्र दर्ता, विवाहित तथा अविवाहित प्रमाणित, स्वास्थ्य उपचार, फरकफरक नामथर, जन्ममिति प्रमाणित तथा दुवै नाम एउटै हो भन्नेजस्ता सिफारिश निःशुल्क हुने उहाँले बताउनुभयो ।

यस्तै जग्गाधनी प्रमाण पूर्जा संशोधन, कित्ताकाट, नामसारी, जग्गाको हक, नाता प्रमाणित, जीवित रहेको प्रमाणित, पालनपोषण, वैवाहिक अङ्गीकृत नागरिकता, दलित अपाङ्गता प्रमाणितलगायत सिफारिशलाई पनि निःशुल्क गरिएको छ ।
ती २४ वटा प्रकारका सेवा निःशुल्क प्रदान गर्ने दशरथचन्द नगरपालिका–२ देहिमाडौँ बैतडीकै पहिलो वडा हो । बैतडीमा चार नगरपालिका र ६ गाउँपालिकाका गरी ८४ वडा छन् ।

प्रकाशित मिति : September 1, 2018 at 11:06 am