भ्रष्टाचार नियन्त्रणको माग गर्दै राप्रपाको देशैभर प्रदर्शन
२४ असार, काठमाडाैँ । राप्रपाले भ्रष्टाचार नियन्त्रणका लागि देशैभर प्रदर्शन गरेको छ । पूर्व निर्धारित कार्यक्रम अुनसार देशभकार सबै जिल्ला प्रशान कार्यालयको अगाडी प्रदर्शन गर्ने र धर्नामा बस्ने काम भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दैनिकीलाई जानकारी दिए । उनले भ्रष्टाचार नियन्त्रणको माग सहित देशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा घेराउ र धर्ना गरिएको बताए ।
राप्रपाले प्रधानमन्त्रीलाई पेश गरेको २२ बुँदे ज्ञापनपत्र सम्बोधनका लागि दबाब दिन शुक्रबारको दाबाब कार्यक्रम गरेको प्रवक्ता श्रेष्ठले बताए । राप्रपाले गत असार १ गते प्रधानमन्त्रीलाई राजनीतिक मागका अतिरिक्त जनजीविकासंग सम्बन्धित विविध २२ बुँदे माग सहितको ज्ञापनपत्र पेश गरेको थियो । सो माग पुरा गराउन दबाब दिने उद्देश्यले राप्रपा असार १३ गतेदेखि आन्दोलित छ ।
यसक्रममा राप्रपाले असार १३ गते किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन माग गर्दै ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा ज्ञापनपत्र र धर्ना दिएको छ । आफ्नो माग सम्बोधन गर्न राप्रपाले असार १७ गते साँझ देशका सबै जिल्ला सदरमुकाममा राँके जुलुस सम्पन्न गरेको छ । असार १९ गते राप्रपा आबद्ध ट्रेड युनियनले श्रमिकको उचित ज्याला र श्रमिकको जीवन बिमाको व्यवस्था हुनुपर्ने भन्दै श्रममन्त्रीको ध्यानाकर्षण गराएको छ ।
राप्रपाको विद्यार्थी संगठनले असार २७ गते देशका सबै विद्यालयमा पाठ्यपुस्तक पुर्याउन र कक्षा १२ सम्मको अध्ययन नि:शुल्क गराउन माग गर्दै शिक्षामन्त्रीलाई र असार ३१ गते महिला संगठनले महिला हिंसाका घटना बारे महिला, बालबालिका मन्त्रीलाई विविध कार्यक्रम सहित ज्ञापनपत्र पेश गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : July 8, 2022 at 4:03 pm









