८ असार २०८३, सोमबार | Mon Jun 22 2026

चुनावमा भएका अन्तरघातको छानबिन गर्न एमालेले बनायो समिति

१९ असार, काठमाडौं । नेकपा एमालेले स्थानीय चुनावमा पार्टीभित्रैबाट भएका अन्तरघात तथा अराजकताका घटनाहरूको छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा समिति गठन गरेकाे छ ।

आइतबार बसेको पार्टी सचिवालय बैठकले पौडेलको संयोजकत्वमा, खगराज अधिकारी र देवेन्द्र दाहालसहित तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । बैठकपछि पार्टीका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले चौतर्फी घेराबन्दीका बीचमा एमाले पहिलो शक्तिका रूपमा स्थापित भएको निष्कर्ष निकालिएको जानकारी दिए ।

उनले भने, ‘आन्तरिक समस्याहरूका कारण सोचेबमोजिम नतिजा आएन । अनुशासनहीनता, अराजकता र अन्तरघातका घटनाहरू भए । त्यो सबैलाई सच्याएर आगामी निर्वाचनमा दुरुस्त रूपमा प्रस्तुत हुने पार्टीले निर्णय गरेको छ’।

सचिवालय बैठकले असार मसान्तभित्र सबै तहका निर्वाचन समीक्षा गरिसक्ने निर्णय गरेकाे छ । बैठकले जिल्ला कमिटी र प्रदेश कमिटीलाई रिपोर्ट तयार गरेर पठाउन निर्देशन समेत दिएकाे छ ।

निर्वाचनका क्रममा भएका अनुशासनहीनता र अराजकताका विषयमा परेका उजुरीहरूको छानबिन र कारबाहीका लागि उपाध्यक्ष पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति बनाइएको गुरुङले जानकारी दिए । उक्त समितिलाई छानबिनका साथै कारबाहीको पनि अधिकार प्रत्यायोजन गरिएको छ ।

प्रकाशित मिति : July 3, 2022 at 5:58 pm