बामदेवको विजोग ! पार्टी घोषणाको सात दिनमा आफैँ निष्कासनमा परे (माइन्युटसहित)
१८ असार, काठमाडाैँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम राजनीतिक दल घोषणा गरेको सात दिनमै निष्काशनमा परेका छन । अभियानमा आवद्ध चार दलले शनिबार संयोजक गौतमलाई निष्कासन गरेका छन ।
अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले ५ बुँदे आरोप लगाउँदै गौतमलाई निष्कासन गर्ने निर्णय गरेको युवराज सफलले जानकारी दिए ।

गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले ११ असारमा ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा दोस्रो भेला गरेको थियो । सोही भेलाले पार्टीको घोषणा गर्ने निर्णय गरेको थियो । समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीसमेत सहभागी भेलाले गौतमको नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियानलाई दलको रुपमा अघि बढाउने निर्णय गरेको हो ।
आज सतुंगलस्थित एक पार्टी प्यालेसमा चार पार्टीको शीर्ष नेताको बैठकले गौतमलाई बहुमतबाट निष्काशन गरी सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ । सचिवालयको सदस्यमा कृष्णगोपाल वञ्जरा, मीननाथ देवकोटा, नीलकण्ठ पौडेल, द्वारिका निरौला मानव, गुणबहादुर वञ्जरा, भरत कुमाल, भगवती ढकाल, सरस्वती न्यौपाने, तेजबहादुर कार्की र रोशन लामिछाने रहेका छन ।

प्रकाशित मिति : July 2, 2022 at 6:50 pm









