एडिलेडमा बोलबम यात्रा गरिदै
१३ असार, एडिलेड । एडिलेडमा पुत्रदा एकादशीका दिन सोमवार अगष्ट ८ मा बोल बमको आयोजना हुने भएको छ । हिन्दुहरुका आराध्य देव महादेवको प्रिय महिना साउन र प्रिय वार साउनको सोमवार हो । त्यसैले साउनको अन्तिम सोमवार विशेष धार्मिक उत्सवका साथ समापन गर्नका लागि एडिलेडमा पनि नेपाली समुदायको अगुवाईमा ब्राइटन विचबाट जल लगेर डोभर गार्डेन स्थित महादेव मन्दिरमा भगवान शिव समक्ष अर्पण गरेर यो वर्षको महादेवको बोलबम स्तूति समापन हुने एडिलेडका सामाजिक अगुवा गोकुल ढकालले बताए ।

साउन महिनाको अन्तिम सोमवार नेपाल भारत लगायतका देशहरुमा हिन्दुहरुले भगवान शिवलाई गेरु बस्त्र धारण गरेर शिवको आराधना भजन गाउदै नदि खोला जस्ता पानीका स्रोतबाट कावर बनाएर जल लिएर भगवान शिवलाई चढाने गर्छन् । सामान्य स्तूतिबाटै छिट्टै प्रसन्न हुने स्वभावका आशुतोषलाई साउने सामवारको स्तूति गर्दा फल मिल्छ भन्ने जनविश्वास पनि छ ।
दोस्रो वर्ष यात्रा गर्न लागेका ढकालले यस्ता यात्रा तथा भगवान प्रतिको भक्ति आराधनाले मानिसमा मनोवल आत्मविश्वास बढाउने विश्वास व्यक्त गर्दै बोल बम यात्रा सहितका धार्मिक कार्यक्रमले नेपाली समाजलाई जोड्ने बताए । उनले व्यस्तता विचमा एक धार्मिक कार्यक्रममा सहभागी हुदा परदेशमा पनि तिर्थ यात्राको अनुभुती हुने बताए ।
यस बर्ष मन्दिरमा भेला भएर गेरु वस्त्र लगाएर मन्दिरबाट बोल बम यात्रा ब्राइटन बिच सम्म पुग्ने र त्यहाबाट जल लिएर पुन मन्दिरमा आउने कार्यक्रम रहेको जनाइएको छ जुन यात्रा सात किलो मिटर हुने छ । आफ्नै निजि निवासमा निजि लगानीमा उक्त शिव मन्दिर निर्माण समेत गरेका ढकालले सहभागीताका लागि कार्यक्रमको पेजमा गएर `गोइङ´ गरेर सहभागी हुन सक्ने र कोहि इच्छुकहरु संग बोल बमको टिसर्ट नभएका आयोजकले उपलब्ध गराउने बताए ।

प्रकाशित मिति : June 27, 2022 at 3:02 pm









