४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

जनमत बढेकाले एमालेलाई अबको चुनाव जित्न सहजः महासचिव पोखरेल

१२ असार, काठमाडाैँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनको नतिजाले पार्टीलाई प्रदेश र प्रतिनिधिसभाको चुनाव जित्ने आधार तयार गरेको बताएका छन । पार्टीको जनसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय कमिटी बैठकमा महासचिव पोखरेलले जनमत बढेकाले चुनाव जित्न सहज हुने निष्कर्ष सुनाए ।

‘गठबन्धन भएको स्थानमा एमालेको धेरै मत आएको छ,’ महासचिव पोखरेलले भने, ‘स्थानीय तहको चुनावको परिणामले एमालेलाई चुनावको सामना गर्ने सामथ्र्य पनि बढाएको देखियो । अब केही प्रतिशत मत वृद्धि गर्ने हो भने स्वभाविक रूपमा चुनाव सजिलै जित्नसक्ने आधार तयार भइसकेको छ ।’

महासचिव पोखरेलले पाँच दलीय गठबन्धनलाई एमालेले जित्न सक्छ भन्ने मनोबिज्ञान जनतामा पैदा गर्न नसक्दा सोचे जस्तो परिणाम नआएको बताउँदै निर्वाचनमा प्राप्त मतबाट अब एमालेले गठबन्धनलाई जित्नसक्छ भन्ने मनोबिज्ञान जनतामा विकास भइसकेको छ बताए ।

उनले भने, पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा सत्ताको चरम दुरूपयोग गर्यो । महासचिव पोखरेलले ०७४ सालको निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मधेश विरोधी नेता भनेर भ्रम फैलाएको तर यसपटक त्यो भ्रम पुरै चिरिएको बताए ।

तराईका जिल्लाहरूमा अहिलेसम्म भएको विकासको गुरूयोजना नै अध्यक्ष ओलीले तयार गरेको वताउँदै महासचिव पोखरेलले भने–सहरी पूर्वाधार विकास आयोजनको रूपमा तराईका प्रत्येक जिल्लामा ५०–५० करोड छुट्याएर पछि बाटो, सडक, पुल निर्माणको योजनाकार अध्यक्ष ओली नै हुनुहुन्छ ।

महासचिव पोखरेलले गठबन्धनबाट अब देश बन्न नसक्ने भन्दै देश बनाउन एउटा बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको र त्यो शक्ति एमाले मात्र भएको बताए । एमालेले देश बनाउने कुरालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै महासचिव पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’ एमालेको अभियान भएको बताए ।

अध्यक्ष ओली नेतृत्वको सरकारले वचतमा छोडेको अर्थतन्त्रलाई तहसनहस बनाउने काम गठबन्धन सरकारले गरिरहेको वताउँदै उनले भने –गठबन्धन सरकार जति समय रहन्छ त्यति देशलाई घाटा हुने छ ।

नेकपा एमालेले तयार पारेको समाचार

प्रकाशित मिति : १२ असार २०७९, आईतवार १०:२१