३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

जनप्रतिनिधिको सहमतिमा बञ्चरेडाँडा पुगेको फोहोर व्यवस्थापनमा कांग्रेसको अवरोध


२४ जेठ, नुवाकोट । फोहर व्यवस्थापनमा नेपाली कांग्रेसले अबरोध सिर्जना गरेको छ । सोमबार सहरी विकास मन्त्रालयमा सरोकारवाला जनप्रतिनिधिहरूको रोहबरमा भएको सहमति अनुसार मंगलबार बिहानै फोहोर बोकेर बञ्चरेडाँडा पुगेका सवारीसाधान नेपाली कांग्रेसका नेता कार्यकर्ताले रोकेका छन ।

ककनी गाउँपालिका वडा नम्बर ३ चाउथे स्थायी घर भए पनि लामो समयदेखि काठमाडौँमा रहेर ठेक्कापट्टा गर्दै आइरहेका नेपाली कांग्रेसका नेता श्रीराम ढुंगानाको नेतृत्वमा फोहोर व्यवस्थापनमा अबरोध सिर्जना गरिएको हो । स्थानीयका अनुसार बिहानैदेखि काठमाडौँबाट फोहोर बोकेर पुगेका ट्रकहरू खाली गर्न दिइएको छैन । स्थानीय भनिए पनि कांग्रेस निकटका केहीलेमात्र फोहोर व्यवस्थापनमा अबरोध गरेको प्रत्यक्षदर्शीले बताएका छन ।

यसअघि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोलसहितको टोली सिसडोल र बञ्चरेडाँडामा पुगेको दिननै कांग्रेस नेता ढुंगानाले फोहोर व्यवस्थापनमा अबरोध गर्ने घोषणा गरेका थिए । उनले आफू पनि यही ठाउँमा जन्मिएको मान्छे भएकाले फोहर व्यवस्थापनका बारेमा मागहरू राख्न पाउने भन्दै भाषण समेत गरेका थिए ।

एक्लै भए पनि फोहोर व्यवस्थापनमा अबरोध गर्ने घोषणा गर्दै कांग्रेस नेता श्रीराम ढुंगाना ।

स्थानीय युवाहरूले नयाँ जनप्रतिनिधिलाइ पुरानाकै जस्तो व्यवहार गरेर काममा अबरोध गर्न नहुने भन्दै गर्दा ढुंगानाले तीनपिप्लेदेखि बञ्चरेडाँडासम्म सडकमा परेको जग्गाको पनि मुअब्जा पाउनुपर्ने नयाँ माग थपिएको र त्यसो नहुँदासम्म आफू एक्लैले भए पनि फोहोर रोक्ने घोषणा गरेका थिए ।

यद्यपी उनले यस्तो भाषणगर्दा स्थानीय युवाहरूले रोक्ने कोशिश गरिरहेका थिए । कांग्रेसकै अर्का एक नेताले ककनी २ का अर्जुन घिमिरे पाँडेको आमाको निधन फोहोरको समस्याबाट क्यान्सर भएको भन्दै अतिरञ्जना गरेका थिए । यद्यपी पाँडेले उक्त कुराको खण्डन गरिसकेका छन ।

सोमबार सहरी विकासमन्त्री रामकुमारी झाँक्री काठमाडौं महानगर, ललितपुर महनगर, ककनी गाउँपालिका, धुलिबेसी नगरपालिका र गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधिको रोहरमा भएको सहमतिमा आजदेखि फोहोर उठाउने कुरा उल्लेख भएको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७९, मंगलवार १२:०२