लोक सेवा र लाइसेन्सको जाँच दिने दुई नक्कली परीक्षार्थी पक्राउ
१९ जेठ, हेटौंडा । हेटौंडाबाट लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षा र मोटरसाइकल चालक सवारी पत्रको नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
लोकसेवाको सहायक चौथो तहको परीक्षामा महोत्तरीको साविक पोखभिण्डा गाविस बस्ने अभयकुमार यादवको परीक्षा दिइरहेका कास्कीको पोखरा महानगरपालिका–२ का ४२ वर्षीय दीपेन्द्रप्रसाद बास्ताकोटी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले बास्ताकोटीलाई नियन्त्रणमा लिएको हो । बस्ताकोटीको झोलाबाट प्रहरीले ५८ हजार ५ सय रुपैयाँ, अभयकुमार यादवको नामको नागरिकता, महोत्तरीकै सुजितकुमार साह, धनुषाका हीरा कुमारी, र विनोदकुमार महतोको नामको नागरिकता समेत बरामद गरेको छ ।
त्यसैगरी यातायात व्यवस्था कार्यालय हेटौडाले लिइरहेको मोटरसाइकलको सवारी चालक अनुमति पत्रको परीक्षामा बुवाको परीक्षा दिइरहेका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको बकैया गाउँपालिका–७ का टुकनाथ गौतमको स्थानमा परीक्षा दिइरहेका उनकै २० बर्षीय छोरा सन्तोषलाई प्रहरीले पक्रेको हो ।
प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहीबार २२:३७