१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

जीतपुरसिमराका मेयर कर्मचारीसहित माओवादी नेता भेटन गएपछि कार्यालयकाे काम प्रभावित

१२ जेठ, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राजन पौडेलले कार्यभार सम्हालेको भोलिपल्टै कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोखरेलसहित कर्मचारीहरुलाई लिएर काठमाडौँ लागेपछि कार्यालयको काम प्रभावित बनेको छ ।

मेयर पौडेलले काठमाडौँमा माओवादी पार्टीका नेता र मन्त्रीहरुलाई भेटन भन्दै प्रमुख प्रशासकीय अधिकृत पोखरेलसहित प्रशासन प्रमुख बालाराम खड्कालाई लिएर काठमाडौँ गएपछि कार्यालयको सेवा प्रभावित बनेको हो ।

जिल्ला प्रशासन कार्यालय बाराले नव निर्वाचित वडा अध्यक्षहरूको हस्ताक्षरको नमुना पठाउँन भनेर नगरपालिका कार्यालय पुगेका वडा नम्बर २३ का वडा अध्यक्ष मुस्तकिम अन्सारी कार्यालयमा कर्मचारीहरू नभेटेपछि निराश हुँदै फर्कन बाध्य भएका छन् ।

हस्ताक्षरको नमुना नगरपालिका मार्फत सिडियो कार्यालयमा पठाएपछि मात्रै नवनिर्वाचित वडा अध्यक्षहरूले कार्यालयको कागजपत्रमा हस्ताक्षर गर्न पाउने भएकोले वडा सचिव सहित नगरपालिका गएको तर कर्मचारी नभेटेपछि हस्ताक्षर प्रमाणिकरणको काम गर्न नपाएर जनताको सिफारिसमा असहज भएको उनले बताए ।

जनताको कामलाई बेवास्ता गर्दै मेयर पौडेल आफ्नों पार्टीका नेता भेट्न कर्मचारी नैं लिएर गएपछि वडा अध्यक्षहरूले मेयरले जनताको कामलाई भन्दा पार्टी व्यक्तिगत कामलाई प्राथमिकता दिएको भन्दै आलोचना गरेका छन् ।

प्रकाशित मिति : May 26, 2022 at 10:18 pm