१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

राप्रपा नेपालले निर्वाचन आयोगसँग गाई चिह्न माग्ने

९ जेठ, काठमाडौँ । राप्रपा नेपालले गाई चुनाव चिह्न दिन निर्वाचन आयोगसँग माग गर्ने निर्णय गरेको छ । कमल थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राख्दै आयोगसँग पार्टीको पुरानै ‘गाई’ चुनाव चिन्ह माग गर्ने निर्णय गरेको हो ।

बैठकले हिन्दू राष्ट्र पुनर्स्थापनार्थ जनजागरण ल्याउन आगामी असार महिनामा राष्ट्रव्यापी सनातन धर्म सम्मेलन गर्ने निर्णयसमेत गरेको छ ।पार्टीले ‘तीर’ सहितको झण्डा सगरमाथाको शिखरमा फहराउने साहसी पर्वतारोही पासाङ शेर्पालाई तत्कालीन राप्रपा नेपालका महामन्त्री एवं संसदीय दलका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा स्थापित एक लाख रुपैयाँ नगद सहितको ‘चन्द्र स्मृति विशिष्ट प्रतिभा पुरस्कार’ द्वारा पुरस्कृत गर्ने निर्णयसमेत राप्रपाले गरेको छ ।

बैठकले छोटो समयमै पटक–पटक पेट्रोलियम पदार्थमा गरिएको अत्याधिक मूल्यवृद्धिको विरोध गरेको छ। पेट्रोलियम पदार्थको करमा छुट दिएर भए पनि अनियन्त्रित मूल्यवृद्धि तत्काल नियन्त्रण गरी जनतालाई राहत प्रदान गर्न सरकारसँग माग गरेको छ ।

देशमा व्याप्त रहेको भ्रष्टाचारलाई कडाईका साथ नियन्त्रण गर्न र संस्थागत रुपमा भइरहेको धर्म परिवर्तनलाई कानुन अनुसार निरुत्साहित गर्न सरकारको ध्यानाकर्षण गराउने राप्रपाले जनाएको छ ।

आगामी संसदीय निर्वाचनबाट राप्रपा नेपाललाई राष्ट्रिय मान्यताप्राप्त दल बनाउने उद्देश्य रहेकोले पार्टीलाई सशक्त रुपमा संगठित गर्ने निर्णय बैठकले गरेको छ । त्यसका लागि भदौको तेस्रो साताभित्र देशको सम्पूर्ण पालिकाहरुका वडामा पार्टीको ईकाई समिति गठन गर्ने र यसमा आवश्यक संख्यामा स्वयंसेवी कार्यकर्ताहरुलाई प्रशिक्षण दिई ७५३ वटै पालिकामा परिचालित गरिने राप्रपाको निर्णय छ ।

त्यसैगरी जेठ महिनाभित्र सातवटै प्रदेश (विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी) मा प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गर्ने राप्रपाले जनाएको छ ।

आगामी असार महिनाभित्र ७७ जिल्लामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना गर्ने निर्णय पनि केन्द्रीय कार्यसमितिले गरेको छ ।

जेठ महिनाभित्र सातवटै प्रदेशहरुका राजधानीमा ‘जनताको माझमा राप्रपा नेपाल’ अभियानअन्तर्गत ‘वर्तमानका चुनौती र विकल्प’ विषयमा बुद्धिजिवी वर्ग, नागरिक समाजका अगुवा तथा विभिन्न पेशा र समुदायका प्रतिनिधीहरुसँग अन्तरक्रिया कार्यक्रम संचालन गर्ने, कात्तिकभित्र विभिन्न जनवर्गीय संगठनहरुको इकाई समिति पालिका स्तरसम्म गठन गरिसक्ने केन्द्रीय समितिले तय गरेको छ ।

संसदीय निर्वाचनबाट राप्रपा नेपाललाई राष्ट्रिय मान्यताप्राप्त दल बनाउनका लागि तत्कालै विभिन्न तहमा नियमित रुपमा प्रशिक्षण, अनुशिक्षण, सामाजिक परिचालनका कार्यक्रमहरु संचालन गर्ने, भदौ महिनाभित्र काठमाडौंमा पार्टीको वृहद् राष्ट्रिय भेला आयोजना गर्ने राप्रपा नेपालको निर्णय छ ।

युवा वर्गलाई पार्टीको विचार र संगठनमा आकर्षित गर्न निकट भविष्यमा ‘युवा वर्गमा राप्रपा नेपाल अभियान’ संचालन गर्ने, जेठ मसान्तभित्रमा जनवर्गीय संगठनहरुको उपत्यकास्तरीय संयुक्त भेला काठमाडौँमा आयोजना गर्ने निर्णय पार्टीले गरेको छ ।

प्रकाशित मिति : May 23, 2022 at 6:22 pm