६ जेष्ठ २०८१, आईतवार | Mon May 20 2024

जिसस प्रमुख दावेदार एमाले नेता श्रेष्ठ वडा सदस्यमै पराजित


७ जेठ, मकवानपुर । जिल्ला समन्वय समिति प्रमुख बन्ने उद्देश्यसहित वडा सदस्य पदमा चुनाव उठेका हेटौंडा उपमहानगरपालिका–८ नम्बर वडाका निवर्तमान अध्यक्ष गोपाल श्रेष्ठ पराजित भएका छन् । एक कार्यकाल वडाध्यक्ष भैसकेका श्रेष्ठ यस पटक समन्वय समितिको प्रमुख बन्ने योजनासहित वडा सदस्यमा उठेका थिए ।

उनलाई गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार गोरख रायले हराएका हुन् । नेकपा एमाले मकवानपुरका सचिवालयसदस्यसमेत रहेका उनी वडा सदस्यमै पराजित भएका हुन् । रायले २ हजार १२० मत पाउँदा श्रेष्ठले १ हजार ९४१ मत ल्याएका थिए ।

श्रेष्ठसँगै जिसस प्रमुखका अर्का आकांक्षी देवराज रिमाल पनि वडामै पराजित भएका छन् । रिमाल भने ७ नम्बर वडाबाट सदस्यमा चुनाव उठेका थिए । योसँगै हेटौंडा उपमहानगरपालिका–८ मा एमालेको लामो समयदेखिको एकाधिकार तोडिएको छ । वडाध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका नेता राम थापा विजयी भएका छन् । एमालेका बोलबहादुर कार्कीलाई हराउँदै थापा विजयी भएका हुन् । थापाले २ हजार २१३ मत प्राप्त गर्दा कार्कीले १ हजार ९६८ मत ल्याएका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार १५:३७