७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

नुवाकोटमा एमालेले अर्को लालाकिल्ला गुमायो, बेलकोटगढीको मेयर र उपमेयरमा गठबन्धन विजयी


६ जेठ नुवाकोट । नुवाकोटमा एमालेको अर्को लाल किल्ला पनि गुमेको छ । बेलकोटगढी नगरपालिकको पहिलो निर्वाचनमा एमालेले १३ वडा मध्ये १० वडामा प्यानलसहित र मेयरमा जित हात पारेको थियो । तर यसपटक गठबन्धनका कारण एमालेले आफ्नो किल्ला गुमाएको छ ।

शनिबार बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणाममा एमालेका राजेन्द्ररमण खनाललाई झण्डै दोब्बर मतले पराजित गर्दै गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका जगत लामा विजयी भए । १३२२२ मत प्राप्त गर्दा खनालले ६७९४ मत प्राप्त गरे ।

उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका शिव दाहाल विजयी भए । उपमेयरमा विजयी १०७६६ मत प्राप्त गरे भने उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी रुपा सापकोटाले ७२७४ मत प्राप्त गरिन ।

बेलकोटगढीमा नेपाली कांग्रेसले वडामा धेरै सुधार गरेको देखिएको छ । यसअघि जम्म १ वडामात्र विजयी भएको कांग्रेस यस पटक ७ वडामा विजयी हुन सफल भएको छ । एमाले ४ वडामा विजयी भएको छ भने माओवादीले यसअघि विजयी भएको जम्मा दुइवटा वडा मुस्किलले जोगाएको छ ।

वडा नम्बर १ मा एमालेका सन्तबहादुर तामाङ, २ मा कांग्रेसका रामचन्द्र तिमल्सिना३ मा माओवादीकी कौशिला पुडासैनी ४ मा माओवादीका चन्द्रबहादुर लामा, ५ मा कांग्रेसका मदन भुजेल, ६ मा एमालेकी अम्बिका तामाङ, ७ मा कांग्रेसका भुवनेश्वर नेपाल विजयी भएका छन ।

त्यस्तै वडा नम्बर ८ मा एमालेका सुरेश चित्रकार, ९ मा कांग्रेसका दुर्गाप्रसाद गजुरेल, १० मा कांग्रेसका प्रलाद थपलिया, ११ मा कांग्रेसका प्रकाशजङ्ग पान्डे, १२ मा एमालेका डिल्लीराम सिलवाल  र १३ मा कांग्रेसका नवराज पान्डे विजयी भए ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार ११:१२