११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

स्थानीय निर्वाचन: गाउँ भरिए, सहर रित्तिए

२८ वैशाख, सुर्खेत । स्थानीय तहको निर्वाचन हुन दुई दिन बाँकी रहँदा सहर बजार खाली हुन थालेका छन् । स्थानीय तहका नयाँ जनप्रतिनिधि चुन्न नागरिकहरू सहर छाडेर गाउँतिर लागेका हुन् । सुर्खेतको वीरेन्द्रनगर बजारमा दुई दिनदेखि गाउँमा जानेको ताँती लागेको छ । कर्णालीका सबै बजार क्षेत्र र सदरमुकाम खाली हुन थालेका छन् ।

सुर्खेतदेखि बाहिर जिल्लामा जानेकोख संख्या निकै वृद्धि भएको अहिले बस काउन्टरमा टिकट पाउन नै गाह्राे भएको सुर्खेत बसपार्कमा टिकट काउन्टरमा काम गर्ने अक्कल कार्कीले बताए । ‘गाउँ जानेको संख्या निकै वृद्धि भएको छ,’ उनले भने, ‘यात्रुको चाप बढी हुँदा यातायातको टिकट पाउन मुस्किल परेकाे छ ।’

सहरमा रहेका मतदातालाई उम्मेदवारहरूले गाडी रिजर्भ गरेर गाउँगाउँ लैजाने गरेको सुर्खेत बसपार्कमा भेटिएका जुम्ला कनकासुन्दरी गाउँपालिकाका राजकुमार बुढाले बताए । ‘हाम्रो गाउँपालिकाका उम्मेदवारले गाडी रिजर्भ गरेका छन् रे,’ उनले भने, ‘त्यो गाडी कतिबेला आउँछ भनेर पर्खेर बसेको छु ।’

मतदाताहरू गाउँगाउँमा जाँदा सुर्खेत बजारको व्यापार व्यवसायमा कमी आएको व्यापारी रामबहादुर मगरले बताए । ‘सुर्खेत बजारमा प्रायः पसल बन्द छन्,’ उनले भने,‘मतदाताहरू गाउँमा गएका कारणले व्यापारमा कमी आएकाे छ ।’

निर्वाचन नजिकएपछि गाउँमा गाउँमा मानिसहरु भरिभराउ हुन थालेको र आ-आफ्नो पक्षमा मत माग्न थालेको कालीकोट नरहरिनाथ गाउँपालिका-९ लालुका रोहन बिष्टले बताए । ‘अहिले गाउँमा मानिसहरूकाे चहलपहल निकै बढेको छ,’ उनले भने, ‘मतदान गर्न बाहिरबाट आएका कारणले चहलपहल निकै बढेको छ ।’

प्रकाशित मिति : May 11, 2022 at 12:10 pm