११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

म सपना बाँड्न होइन, काम गर्न उम्मेदवार बनेको हो : नेत्री सिंह

२७ वैशाख, काठमाडौँ । पाँच दलीय गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिनुभएकी सिर्जना सिंहले आफू सपना बाँड्न नभई काम गर्न महानगर प्रमुखको उम्मेदवार बनेको बताएकी छिन।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको ‘चुनावी सभा’मा उनले काठमाडौँको विकासका लागि आफूले ठूला सपना नबाँडेको बताउँदै आफूले अगाडि सारेको सङ्कल्प पत्रअनुसार काम गर्ने उल्लेख गरिन् ।

“स्वच्छ, सफा र हराभरा महानगर निर्माण गर्नका लागि म काठमाडौँवासीको अभिभावक बन्न चाहन्छु, काठमाडौँलाई ‘महान् घर’ बनाउन चाहन्छु”, उनले भनिन् । उनले २५ वर्ष पहिलेका प्रमुख पिएल सिंहले सारेको परिकल्पनालाई पूरा गर्ने विश्वाससमेत व्यक्त गरिन् ।

नेत्री सिंहले काठमाडौँभित्रको खाल्डाखुल्डी र धुलोधुवाँको समस्या समाधान गर्दै फोहोर व्यवस्थापन घरबाटै सुरु गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् । काठमाडौँभित्र देखिएको भद्रगोल ट्राफिकलाई व्यवस्थित बनाउँदै सबैलाई सार्वजनिक यातायात चढ्ने वातावरण निर्माण गर्ने उनको भनाइ थियो ।

महागरनगर प्रमुखका उम्मेदवार सिंहले फुटपाथ व्यवसायलाई व्यवस्थित, ठूला सडकमा ‘साइकल लेन’को व्यवस्था, बागमती, विष्णुमती, रुद्रमतीलगायतका नदीलाई व्यवस्थित बनाउने, निम्न आय भएका महिलालाई विशेष राहत भत्ताको व्यवस्था गर्ने बताइन ।

यस्तै विदुर पुरुषहरुका लागि विशेष राहतको व्यवस्था, बेरोजगार युवाहरुलाई रोजगारको व्यवस्था, युवालाई उद्यमी बनाउने, प्रत्येक वडामा कोसेली घर निर्माण, युवाहरुलाई खेलकुदप्रति आकर्षण गर्न विभिन्न किसिमका प्रतियोगितासमेत सञ्चालन गर्ने उनको भनाइ छ ।

यसैगरी ज्येष्ठ नागरिक केन्द्रको स्थापना, काठमाडौँमा चौबिसै घण्टा हिँड्न मिल्ने गरी नेपाल प्रहरीसँग सहकार्य गरी सुरक्षित काठमाडौँ निर्माण, सार्वजनिक स्थानमा निःशुल्क खानेपानीको वितरण, सार्वजनिक शौचालयको निर्माणलगायत आफ्नो प्रमुख प्राथमिकता भएको नेत्री सिंहले बताइन् ।

गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले आफू निर्वाचित भएमा सुशासनयुक्त महानगर, भ्रष्टचारमुक्त महानगर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले काठमाडौँमा सधैँ फोहोरको समस्या हुने गरेको भन्दै फोहोरको सही व्यवस्थापनका लागि फोहोर प्रशोधन केन्द्र स्थापना गर्ने बताइन् ।

काठमाडौँ महानगरपालिकाभित्र शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकताका साथ अगाडि बढाउने उहाँको भनाइ थियो । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाभित्र तीन लाख ४२६ मतदाता रहेका छन् । मुलुककै सबैभन्दा धेरै वडा भएको काठमाडौँमा ३२ वडा रहेका छन् ।

प्रकाशित मिति : May 10, 2022 at 9:09 pm