मतदातामा शिक्षाकाे अभाव
२७ वैशाख, खोटाङ। निर्वाचन आयाेगले निर्वाचन लक्षित मतदाता शिक्षा सञ्चालन नगर्दा यस पटक अधिक मत बदर हुने देखिएको छ । मतदानको दिन सम्ममा सही तरिकाले भोट हाल्ने शिक्षा दिन सकिएन भने धेरै भोट बिग्रिने सम्भावना रहेकाे खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी चन्द्रमायाँ कार्की बताउँछिन् ।
निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालयले यस पटक मताधिकारकाे प्रयोग, मत हाल्ने तरिका, मतपत्र पट्याउने र मत पेटिकामा हाल्ने तरिका नसिकाएपछि दलहरूले आफूखुशी मतदान शिक्षा दिएका छन् ।
निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेपकपा (एस) लगायतको गठबन्धन दलको चुनावी तालमेलमा छ । एमालेले समेत कतिपय स्थानीय तह र वडामा अन्य दलसँग तालमेल गरेको छ । कतिपय दलका उम्मेदवार अर्का दलको चुनाव चिह्नबाट लडिरहेका छन् । यसकारण यस वर्ष क्रस गर्दै भोट हाल्नु पर्ने अवस्था । तर, मतदाता शिक्षा अभावमा मतदाताहरू अलमलमा परिरहेका छन् ।
भोट क्रस गर्दै मतदान गर्नेक्रममा अधिक मत बदर हुने अनुमान गर्न थालिएको छ । एउटा मत बदर हुँदा योग्य उम्मेदवार पराजित हुने र अयोग्य उम्मेदवार विजयी हुने सम्भावना हुने उम्मेदवारहरूनै बताउँछन् । मतदाता शिक्षा अभावमा धेरै मत बदर हुने देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार कुमारप्रसाद आचार्य बताउँछन् । ‘यसपटक निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन गरेन । जनतामा मतदाता शिक्षा पुगेको छैन,’ आचार्यले भने, ‘यसको परिणाम अधिक मत बदर हुने देखिन्छ ।’
मतदाता शिक्षा सञ्चालन गर्दा पनि २०७४ सालको स्थानीय तह निर्वाचनमा खोटाङमा एक हजार दुई सय १७ मत बदर भएको थियो । जसमा केपिलासगढी र दिप्रुङ चुईचुम्मा गाउँपालिकाको बदर मत जोडिएको छैन । आगामी निर्वाचनमा खोटाङका एक लाख ४३ हजार सात सय ५२ मतदाताले मताधिकार प्रयोग गर्दैछन् ।
प्रकाशित मिति : May 10, 2022 at 3:10 pm









