२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

सैनामैनामा एमालेका मेयर उम्मेदवार कार्कीमाथि माओवादीको आक्रमण प्रयास


२७ वैशाख, सैनामैना । चुनावी प्रचारप्रसारको अन्तिम प्रहर चलिरहेका बेला सैनामैनामा मेयरका उम्मेदवार चित्रबहादुर कार्कीमाथि गठबन्धनका कार्यकर्ताले आक्रमण प्रयास गरेका छन् । सैनामैना नगरपालिका–९ बासगढी पिपलडाँडा बालउद्यान नजिकै राजमार्गमै माओवादीका कार्यकर्ता भीमबहादुर सार्कीलगायतका कार्यकर्ताले मेयरका उम्मेदवार कार्कीमाथि आक्रमण प्रयास गरेका हुन् ।

कार्यकर्तासंगको भेटघाट सकेर फर्किने क्रममा माओवादी कार्यकर्ता सार्कीलगायतले राजमार्गमै गाडी रोकेर आक्रमण प्रयास गरेका हुन । माओवादी कार्यकर्ता सार्की अरु कार्यकर्ताहरु सहित मोटरसाइकलमा आएका थिए । उनले मोटरसाइकलले कार्कीको गाडी छेकेर आक्रमणको प्रयास गरेको प्रत्यक्षदर्शी नारायण अर्यालले जानकारी दिए ।

आक्रमणको प्रयास गर्ने माओवादी कार्यकर्ता सार्कीलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन एमाले सैनामैनाले प्रहरीसंग आग्रह गरेको छ । निर्वाचन परिचालन कमिटी सैनामैना–९ का संयोजक डोलनाथ भण्डारीले मेयरका उम्मेदवार चढेको गाडीलाई राजमार्गमै उछिनेर एक्कासी रोकेर आक्रमण प्रयास गरेको बताए ।

यता इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख जगतनाथ मरासिनीले हातले रोक्ने प्रयास गरिरहेको नदेखेको भन्दै मोटरसाइकलले उछिनेर मेयरका उम्मेदवार चढेको गाडीलाई छेकेर रोकेको तर आक्रमण भने नभएको बताए ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलवार ११:२५