५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

एमालेको साधारण सदस्य भित्र्याउँदै नुवाकोट कांग्रेसले जिल्ला कमिटी सदस्यको प्रचार गर्यो


१८ वैशाख, नुवाकोट । नेकपा एमाले नुवाकोटको संगठित सदस्य शिवबहादुर कुमाल पुरानै घर फर्किएका छन । उनी केही वर्षअघि कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेका थिए भने आइतबार पुनः एमाले परित्याग गरी नेपाली कांग्रेसमै फर्किएका छन ।

विदुर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य समेत रहेका शिवबहादुर कुमाल आइतबार एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन । पुनः वडा सदस्यमा उम्मेदवार हुने चाहना राखेका कुमालले त्यस्तो नभएपछि आइतबार कांग्रेस प्रवेशको निर्णय गरेका हुन । कुमाललाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा र जिल्ला सभापति रमेशकुमार महतले पार्टीमा स्वागत गरे ।

कांग्रेस प्रवेश गरेका कुमाल एमालेको कुनै पनि जिम्मेवारीमा नभएका व्यक्ति हुन । तर कांग्रेसले उनी एमालेको जिल्ला कमिटी सदस्य भनेर प्रचार गरेको छ । कांग्रेसले स्वयं कुमाललाई पनि जिल्ला कमिटी सदस्य परित्याग गरेको भनेर बोल्न लगाएको छ। कांग्रेसि जिल्ला सभापति र रमेश महत र कांग्रेस निकटका नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाले पनि कुमाल एमालेको जिल्ला सदस्य छाडेर कांग्रेस प्रवेश गरेको भनेर गलत प्रचार गरेका छन ।

खासमा उनी एमालेको संगठित सदस्यमात्र रहेको र पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको नेकपा एमाले जिल्ला कमिटी नुवाकोटका अध्यक्ष बद्री मैनालीले बताए । नेकपा एमालेका विदुर नगरकमिटीका सचिव अनुजकुमार श्रेष्ठले पनि कुमाल एमालेको वडा कमिटीमा समेत नरहेको बताए । उनले कुमाल २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएकको भने स्वीकार गरे । श्रेष्ठले पुनः वडा सदस्यको टिकट मागेको तर नपाएपछि त्यस्तो निर्णय लिएको हुनसक्ने बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आईतवार १६:११