१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

विप्लव नेतृत्वको नेकपा फुटकाे दिशामा, फरक मत राख्ने नेताद्वय धर्मेन्द्र र सुदर्शन पदमुक्त

१४ वैशाख, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई पदमुक्त गरेको छ । बुधबार बिहान कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय नेताहरूको सचिवालय बैठकले ओली र बास्तोलालाई निष्कासन गरेको हो । बैठकमा विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर सहभागी थिए ।

पार्टीको ऐतिहासिक बाह्राैं पूर्ण बैठकले राजनीतिक प्रस्तावसहित सबै निर्णय एकमतले गरेको थियो । चितवनमा आयोजित केन्द्रीय प्रशिक्षणले देशभरिका बुझाइलाई केन्द्रीत र एकरूप बनाएदिएको थियो । तर,सचिवालय सदस्य सुदर्शन र कञ्चनले जनक्रान्तिको भावना विपरीत बैठकका निर्णय र नेतृत्वविरुद्ध पार्टी बाहिरका सञ्चारमाध्यममा अराजक तरिकाले अन्तर्वार्ता दिने, कार्यकर्तामाझ गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गरेको विप्लव समूहको आरोप छ ।

काठमाडौंमा सचिवालय सदस्यहरूबीच दुईपटक बसेको बैठकले पार्टीका पारित निर्णयहरूको रक्षा गर्ने, आफ्ना कुनै विमति भए पार्टीभित्रै कमिटीमा राख्ने भन्ने निर्णय भएकाे जनाएकाे छ । तर, निर्णय बाहिर नपुग्दै दुवैले सञ्चारमाध्यममा फुटपरस्त एवं अराजक अन्तर्वार्ता दिएको विप्लवको दाबी छ ।

सचिवालय सदस्यको नामबाट वक्तव्य जारी गर्दै पार्टीले स्थानीय चुनावमा पठाएका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्नुको सट्टा चुनावबाट फिर्ता हुनुपर्ने, नभए कारबाही गर्ने जस्ता गैरजिम्मेवार एवं हास्यास्पद वक्तव्य दिएको विप्लवको आरोप छ । कारबाहीमा परेका दुवैले नयाँ पार्टी खोल्ने तयारी थालेका छन् ।

प्रकाशित मिति : April 27, 2022 at 12:54 pm