८ असार २०८३, सोमबार | Tue Jun 23 2026

बेरोजगार उत्पादन गर्ने शिक्षा नीति बदल्नु पर्दछः मुख्यमन्त्री गुरुङ

२ भदौ,पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेरोजगार उत्पादन गर्ने शिक्षा नीति बदल्नु पर्ने बताउनुभएको छ ।कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–३ पाउदूरस्थित धारापानी माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहको उद्घाटन गर्दै उहाँले अबको शिक्षा प्रविधियुक्त हुनुपर्ने उल्लेख गर्नुभयो ।

जनता आफैँ उद्यमी बन्ने खालको शिक्षाको खाँचो औँल्याउँदै उहाँले ढिकुरपोखरीमा एग्रोयन्जिनियरिङ क्याम्पस स्थापना गर्न ढिलाइ गर्नु नहुने बताउनुभयो । पाँच वर्षमा गरिबी ५० प्रतिशत घटाएर प्रदेशलाई मुलुककै नमूना प्रदेशका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले आगामी पाँच वर्षभित्र वृद्धभत्ता मासिक रु पाँच हजार पु¥याउने योजना रहेको बताउनुभयो ।

सङ्घीय सांसद दुर्गा विकले विगतको शिक्षा प्राविधिक नहुँदा धेरै नेपाली बेरोजगार बस्नु परेको स्मरण गर्दै शिक्षालाई व्यावहारिक बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले नैतिक शिक्षाको खाँचो रहेको बताउँदै रोजगारमूलक शिक्षा विद्यालय तहबाटै पठनपाठन गराउनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य राजीव पहारीले सो विद्यालयलाई रु ३३ हजार मूल्य बराबरका दुई वटा युरोगाड सहयोग गर्दै अन्नपूर्ण गाउँपालिका–३ मा एक घर एक धारा अभियानलाई पूर्णता दिन आफ्नोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्व सांसदद्वय सोमनाथ अधिकारी प्यासी र सीता गिरी वली, समाजसेवी पुण्यप्रसाद पौडेल, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, शिक्षा समन्वय एकाइका प्रतिनिधि विष्णु पराजुली, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कुलबहादुर गुरुङ कुलु, अन्नपूर्ण–३ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ, माछापुच्छे« माविका प्रधानाध्यापक घनश्याम पौडेललगायतले शिक्षामा आमूल परिवर्तनको खाँचो औँल्याउनुभएको थियो ।

हीरक जयन्ती मूल आयोजक समितिका अध्यक्ष भेषराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त अवसरमा मुख्यमन्त्री गुरुङले विद्यालयको हातामा हीरक स्तम्भको शिलान्यास गर्नुभएको थियो ।

प्रकाशित मिति : August 18, 2018 at 11:59 am