३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

बिरामीको उपचारमा लापरबाही गर्ने डाक्टर तथा स्वास्थ्यकर्मीलाई जन्मकैद

१ भदाै, काठमाडाैँ । अाजदेखि बिरामीको उपचारमा लापरबाही गर्ने डाक्टर तथा स्वास्थ्यकर्मीलाई कडा कारबाही हुने भएको छ । बिरामीको उपचारमा लापरबाही गर्ने डाक्टर तथा स्वास्थ्यकर्मीलाई मुलुकी अपराध संहिता ऐनले जन्मकैद हुनेसम्मको व्यवस्था गरेको छ ।

ऐनमा कसैले कसैको ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गरी ज्यान लिएमा ज्यान मारे सरह सजाय हुने उल्लेख छ । त्यस्तै एक किसिमको उपचार गर्नुपर्नेमा अर्कै उपचार गरी ज्यान गएमा पनि त्यही सजाय हुनेछ । कुनै औषधि खुवाउँदा वा खान सिफारिस गर्दा कसैको ज्यान मर्न वा अंगभंग हुन सक्छ भन्ने जान्दाजान्दै त्यस्तो औषधि खुवाउनेलाई पनि सजाय हुने उल्लेख छ ।

यस्तो औषधि खान सिफारिस गर्नेलाई पनि जन्मकैदको सजाय हुने व्यवस्था छ । त्यस्तै कुनै एक अंगको चिरफार गर्नुपर्नेमा अर्को अंग चिरफार गर्नेलाई र त्यस्तो अंग बेकम्मा बनाउन वा शरीरबाट त्यसलाई अलग गर्ने काम गर्ने र गराउनेलाई पनि जन्मकैदको सजाय हुने व्यवस्था छ ।

यस्तै लापरबाही र हेलचेक्रयाइँ गरेर कसैको उपचार गर्दा ज्यान गए वा अंगभंग भए सजायको व्यवस्था गरिएको छ । त्यस्तै मञ्जुरीबिना मानव शरीर परीक्षण गर्ने चिकित्सकलाई पनि तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गराउने व्यवस्था नयाँ ऐनमा छ ।

प्रकाशित मिति : १ भाद्र २०७५, शुक्रबार ०९:३७