१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध

२८ साउन,बैतडी । आज बिहान पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको गोकुलेश्वर–दार्चुलाको खलङ्गा सडकखण्डअन्तर्गत मालिकार्जुन गाउँपालिकाको पनेबाँज नजिक सडक माथिबाट ठूलो पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिनुभयो । बिहान १० बजे खसेको पहिरोका कारण उक्त सडकखण्ड पूर्णरुपमा बन्द भएको छ ।

केही दिनदेखिको लगातारको वर्षाका कारण पहिरो जाँदा अवरुद्ध भएको राजमार्ग सञ्चालनका लागि बैतडीको पाटनबाट डोजरलाई पठाइएको छ । पहिरो पन्छाउने प्रयास भइरहेको भएपनि ठूलो पहिरोका कारण पन्छाउन नसकिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । लगातारको पानी, त्यसमा पनि ठूलो पहिरो खसेकाले गाह्रो भएको छ, उहाँले भन्नुभयो, “डोजरले पहिरो पन्छाउन नसक्दा ठूलो मेसिन लगाउने तयारी गरेका छौं ।”

राजमार्ग अवरुद्ध हुँदा छोटो तथा लामो दूरीका सवारी साधन पूर्णरुपमा बन्द भएका छन् । दार्चुलाबाट काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा र बैतडी तथा काठमाडौँ, महेन्द्रनगर, धनगढी र बैतडीबाट दार्चुलाका लागि छुटेका सवारी साधन बीच बाटोमै रोकिएका छन् ।सवारी साधन बीच बाटोमै रोकिँदा यात्रु अलपत्र परेका छन् । उक्त क्षेत्रमा बेलाबेलामा खसिरहने पहिरोले राजमार्ग अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : 20:16